चितवनः भरतपुर महानगरपालिकाले यहाँ रहेका मजदुर बर्गलाई संकटको समयमा भागेर आफ्नो घर तर्फ जानुनपर्ने जनाएको छ । सरकारले कोरोना संक्रमण रोक्न लकडाउन आब्हान गरेको छ । यस समयमा एक ठाउँबाट अर्को ठाउँमा जान पाइँदैन । खानका लागि राहतको व्यवस्था गरिएको जनाउँदै जहाँ रहेको हो सोही ठाउँमा बसेर लकडाउनको पालना गर्न महानगरले आग्रह गरेको छ ।
भरतपुर महानगपरपालिका प्रमुख रेनु दाहालले पहिलो चरणमा १२ हजार ८ सय ३६ परिवारलाई राहत बितरण गरिसकेको भन्दै राहतको अबश्यकता भएका ज्याला मजदुरी गरेर बस्नेले राहत पाएको बताउनुभयो । उहाँले भन्नुभयो “महानगरमा अहिले रहेकाहरु खानाको अभावले बाहिर भौतारिनु पर्दैन ।”
उद्योग, कलकारखाना, व्यवसायीक प्रतिष्ठानहरु जहाँ रहेका छन् ती ठाउँहरुमा काम गर्नेहरुलाई सम्बन्धित कम्पनीहरुले समेत खानाको व्यवस्था गरिरहेका छन् । असंगठीत ठाउँहरुमा काम गर्ने मजदुरहरु समस्यामा परेका हुन । उनीहरुलाई महानगरले राहत दिएको छ ।
संकटको घडिमा सबैको साथ र सहयोगको अपेक्षा गर्दै उहाँले अत्याबश्यक भएका परिवारले मात्र राहत लिईदिन आग्रह गर्नु भएको छ । आँफु बसेको टोल मार्फत वडा कार्यालयबाट राहत बितरण गरिएको छ । काठमाण्डौं सहित बिभिन्न शहरहरुबाट भरतपुर महानगरहँुदै आ–आफ्नो गन्तव्य हिडेकाहरुलाई यहाँ खानाको व्यवस्था समेत गरिएको उहाँले जानकारी दिनुभयो ।
नेपाली युवा उद्यमी मञ्चले नारायणगढ र स्थानीयले रामनगरमा पैदल यात्रु र खान नपाएकाहरुलाई स्थानीय तहसंग सहकार्य गरेर दिनहुँ खानाको प्रबन्ध मिलाउँदै आएका छन् । यो बाटो हुँदै यात्रा गर्नेहरुलाई समेत खानाको प्रबन्ध महानगर क्षेत्रमा भएको भन्दै यहीं रहेकाहरुले खानाकै करण बसिरहेको स्थान छोडेर बाहिरी जिल्लामा घर भएकाहरु जनुनपर्ने दाहालको भनाई छ ।
भरतपुर महानगरपालिकाले पहिलो चरणमा १ हजार २ सय १७ कुईन्टल चामल, १ सय १९ कुईन्टल दाल, ४ हजार २ सय ५१ लिटर तेल, १ हजार ३ सय ७५ किलो नुन, ३ हजार २ सय ५६ गोटा साबन, २ हजार ४ सय १५ क्रेट अण्डा, १५ कुईन्टल आलु र चना, २ हजार ३६ प्याकेट भूजा बितरण गरेको जनाएको छ ।
महानगर प्रमुख दाहालले नयाँ बर्षका अबसरमा शुभकामना व्यक्त गर्दै कोरोनाको संक्रमण फैलन नदिन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने जनाउनु भएको छ । उहाँले भन्नुभएको छ “बर्ष २०७६ मा थुप्रै उपलव्धी प्राप्त भए तर हाल कोरोना संक्रमणले बिश्वलाई आक्रान्त पारिरहेको छ । नयाँ वर्षको आरम्भका दिनमानै बिश्वबाट कोरोनाको आतङ्क समाप्त होस भन्ने बिश्वास व्यक्त गर्दछु ।”