काठमाडौंः काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औँ तलामा बस्ने एक परिवारका तीनजनामा कोरोना संक्रमणको आशंका भएपछि पाटन अस्पताल लगिएको छ ।

चैत ३ गते बेलायतबाट आएको परिवारमा कोरोना संक्रमणको आशंका गरिएको हो । र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।
उनीहरुलाई त्यहाँबाट लगेर पाटन अस्पतालको आइसोलेसनमा राखिएको छ । पाटन अस्पतालका निर्देशक डा। विष्णुप्रसाद शर्माका अनुसार र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा कोरोना परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएपछि अस्पतालको आइसोलेसनमा राखिएको हो ।

उनले भने “परिवारका तीनजनालाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा कोरोना पोजेटिभ देखिएको छ थप परीक्षणका लागि आज टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना संकलन गरेर पठाएको छ ।”

प्रहरी डीआईजी विश्वराज पोखरेलले पनि चैत ३ गते लन्डनबाट आएको परिवारमा कोरोना आशंका गरिएपछि अस्पताल लगिएको बताउनुभयो ।

उहाँका अनुसार अहिले उक्त विल्डिङमा सिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !