चितवनः जिल्लामा भारतबाट तरकारी बोकेर आएका गाडीले त्रास बढाएको स्थानीयले जनाएका छन् । रातीको समयमा तरकारी आउने गरेको व्यवसायीहरुको भनाई छ ।

उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले राती ११ बजे देखि २ वजेको बिचमा नियमीत रुपमा तरकारी लिएर भारतीय गाडी आउने गरेको बताउनुभयो । दैनिक दश भन्दा बढि गाडीले तरकारी ल्याउने गरेको उहाँको भनाई छ ।

जिल्लामा अहिले कृषकका बारीमा बिक्रिका लागि प्रशस्त तरकारी भए पनि बिक्रि हुन सकेको छैन । भारतीय भूमिमा कोरोनाको संक्रमण बढिरहेका बेला तरकारी आउनुले स्थानीय बजार क्षेत्रका बासिन्दामा त्रास पैदा भएको श्रेष्ठले जानकारी दिनुभयो ।

फलफुल तथा तरकारी थोक व्यवसायी संघ चितवनका अध्यक्ष मदन सापकोटाले भारतिय गाडी वढिआएकै कारण क्षेत्रपुरमा रहेको तरकारी बजार चैत १७ गते बेलुकाबाट बन्द गराईएको बताउनुभयो । भारतीय गाडी छेक्न र स्थानीयलाई सामाजिक दुरी कायम गराउन नसके पछि बजार बन्द गर्नुपरेको उहाँको भनाई छ । भारतीय तरकारी रोक्ने र सामाजिक दुरी कायम गर्न स्थानीय प्रशासनले सहयोग गरेमा जिल्लाको तरकारी बिक्रि गर्न सकीने उहाँको भनाई छ ।

सो तरकारी बजारमा भारतीय गाडी बढि आए पछि स्थानीयले समेत बजार बन्द गर्न दबाब दिएका थिए । सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले खाध्य सामाग्री भारतबाट ल्याउन पाउने भए पनि जिल्लामा आबश्यक तरकारी यही भएकाले गाडी रोकीएको जानकारी दिनुभयो । जिल्ला स्तरमा सहमती गरी भारतीय तरकारीका गाडी रोक लगाईएको उहाँको भनाई छ ।

अनुगमनलाई अरु चुस्तदुरुस्त बनाएर त्यस्ता गाडी रोकीने उहाँले जानकारी दिनुभयो । खुल्ला सिमा रहेको भारतमा कोरोना संक्रमण वढ्दो रहेको छ । अत्याबश्यक बाहेकका सामान रोक्नु पर्ने जिल्ला बासिको माग छ । यो मौषम जिल्लामानै राम्रो तरकारी उत्पादन हुने समय हो । यहीको तरकारी काठमाडौं, पोखरा, गोर्खा लगाएतका जिल्लाहरु जाने गर्दछ ।

प्रतिक्रिया दिनुहोस !