चितवनः राजधानी पछिको प्रमुख मेडीकल सिटिका रुपमा यस जिल्लालाई चिन्ने गरिन्छ । केन्द्रीय अस्पताल भरतपुर, बिपि कोईराला मेमोरियल क्यान्सर अस्पताल, दुई ठूला मेडीकल कलेज, २० भन्दा वढि नीजि अस्पताल, भरतपुर आँखा अस्पताल, संगै यहाँका औषधि उद्योग, प्याथोलोजी जस्ता सेवा कै कारण भरतपुरलाई मेडीकल सिटिको रुपमा लिने गरिन्छ ।
चितवन मेडीकल कलेजका अध्यक्ष एबं प्रबन्धनिर्देशक प्रा. डा. हरिशचन्द्र न्यौपाने नेपालका कुल जनताको २० प्रतिशत जनतालाई यहाँका अस्पतालले स्वास्थ्य सेवा दिएको दाबी गर्नु हुन्छ । उहाँको भनाईमा नेपालको कुल जनताको ३० प्रतिशत हाराहारी बाहिर रहेको छ । बाँकी २ करोड हाराहारी जनसंख्या मध्ये ४० लाख जनसंख्यालाई भरतपुरले सेवा पुर्याउँदै आएको छ ।
जिल्लामा देशैभरबाट उपचारका लागि यहाँ आउने गरेको भए पनि छिमेकी जिल्लाहरुबाट धेरै बिरामी उपचारका लागि यहाँ आउँदछन् । न्यौपानेका अनुसार चितवन मेडीकल कलेजले गत बर्ष ६ लाख बिरामीको स्वास्थ्य परिक्षण गरेको थियो । भरतपुर अस्पतालले ३ लाख, क्यान्सर अस्पतालले ३ लाख नीजि अस्पतालहरुले २ लाख बिरामी हेरेका थिए भने अर्को मेडीकल कलेज कलेज अफ मेडिकल साईन्सेज भरतपुरले चितवन मेडीकल कलेजको भन्दा केही कम बिरामीको उपचार गरेको थियो । यहाँको भरतपुर आँखा अस्पताल, प्याथोलोजीहरु, दन्त क्लीनिक लगाएतले पनि ठूलै संख्यामा बिरामी हेर्ने गर्दछन् । यसलाई हेर्दा बार्षिक १८ लाख हाराहारी बिरामीले यहाँबाट सेवा लिने गर्दछन् ।
न्यौपाने आफनो कलेजले पिसिआर ल्याब स्थापना गर्ने तयारी गरेको भए पनि बनिनसकेको बताउनु हुन्छ । सरकारी तवरबाट ल्याब अत्याबश्यक रहेको उहाँको भनाई छ । भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलका अनुसार अस्पतालमा १९ जिल्लाबाट बिरामीहरु आउने गरेको तथ्याङ्क रहेको छ । सोही अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारी आँफुले स्वास्थ्य मन्त्रालयमा पिसिआर ल्याब स्थापनाका लागि आग्रह गरि पत्राचार गरेको बताउनु हुन्छ । अहिले ल्याब भएको भए छिटो परिक्षण गर्न सकीने उहाँको भनाई छ । भरतपुर चितवनको मात्र नभएर यस देशकै मेडिकल हब भएकाले राजधानी पछिको पिसिआर ल्याबको आबश्यकता महसुश गरिएको उहाँको भनाई छ ।
समय समयमा यहाँ ईन्फुलुन्जा,सार्स जस्ता रोग देखिने र देखिन सक्ने भएकाले ल्याब स्थापना गनुपर्ने उहाँले जानकारी दिनुभयो । नेपाल भरी र भारतबाट समेत बिपि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा बिरामी उपचारका लागि आउने गर्दछन् । अस्पतालका कार्यकारी निर्देशक डा. बिजयचन्द्र आचार्यले एक्टिब भाईरस हेर्न पिसिआर ल्याब तत्काल आबश्यक रहेको बताउनुभयो । सो अस्पतालमा भएको पिसिआर ल्याब एक्टिब भाईरस हेर्न मिल्ने गरि जडान नभएकाले समस्या भएको उहाँको भनाई छ ।
जिल्लामा रहेका नीजि अस्पतालको संस्था नीजि अस्पताल समन्वय समिति चितवनका सचिब बिक्रम अधिकारी उष्ण प्रदेश भएकाले यहाँ रोगको संक्रमण बढी हुने बताउनु हुन्छ । उहाँले भन्नुभयो “यहाँको मौषम रोगका लागि उपयोगी छ ।” धेरै जिल्लाको रिफरल सेन्टर पनि यो भएकाले पिसिआर ल्याब यही हुनुपर्ने उहाँको भनाई छ । अहिले यहाँ त्यस्तो ल्याब नहुँदा काठमाडौंमा निर्भर गर्नुपर्ने भएको छ । दिनहुँ रोगका नमुना काठमाडौं पठाउँनु पर्ने बाध्यता रहेको छ ।
नेपाल चिकित्सक संघका केन्द्रिय उपाध्यक्ष डा. अनिल बिक्रिम कार्की काठमाडौं पछि सबैभन्दा बढि चिकित्सक भएको जिल्ला चितवन रहेको बताउनुहुन्छ । उहाँका अनुसार एक हजार भन्दा वढि चिकित्सक यहाँ कार्यरत छन् । रोगको पहिचानका लागि तत्काल यहाँ ल्याब खडा गर्नुपर्ने उहाँले बताउनुभयो ।
नेपाली काङ्ग्रेस चितवनले बिज्ञप्तिनै जारी गरि जिल्लामा पिसिआर ल्याब संञ्चालन गर्न माग गरेको छ । जिल्ला सभापति जीतनारायण श्रेष्ठले ल्याबको अभावमा समयमा रोग पत्ता लाग्न नसक्दा भयावह अबस्था आउन सक्ने भएकाले दबाबका लागि बिज्ञप्ति निकालेको बताउनुहुन्छ ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आँफुले पहल गरिहेको बताउनुभयो । उहाँले भन्नुभयो “मैले मन्त्री ज्यू र सम्बन्धित बिभागका प्रमुखहरु संग कुराकानी गरिरहेको छु । उहाँहरु सकारात्मक हुनुहुन्छ ।”
यो जिल्ला ७८ औं जिल्लाको रुपमा परिचित छ । यहाँ देशको सबै जिल्लाबाट बसाई सराई गरि आएका मानीसहरु बसोबास गर्दछन् । जसका कारण पनि बिरामीको संख्या बढी हुने गर्दछ । देशको मध्येभाग भएकाले बिरामीको संख्या बढने गरेको छ ।