
चितवनः जिल्लामा रहेका अस्पतालमा उपचाररत बिरामीलाई रगतको अभाब हुन थालेको छ । कोरोना भाईरसका कारण रक्तदान कार्यक्रम हुन छाडेपछि जिल्लामा रगतको अभाब भएको हो ।
नेपाल रेडक्रस सोसाईटी चितवन शाखाका सभापति ज्ञानशाली न्यौपानेका अनुसार कोरोना भाईरसको संक्रमण हुन सक्ने भन्दै जिल्ला प्रशासनले जमघटका कार्यक्रम स्थगित गर्न आव्हान गरे संगै रगतको समस्या परेको हो ।
प्रशासन कार्यालयले सभा, सम्मेलन र जमघटका कार्यक्रम नगर्न अनुरोध गरे पछि जिल्लामा आयोजना गर्न लागिएका १० वटा रक्तदानका कार्यक्रम समेत स्थगित भएका छन् । जसका कारण रगतको अति आबश्यक पर्ने बिरामीहरुले समेत रगत पाउन मुस्किल भएको उहाँले जानकारी दिनुभयो ।
बिद्यालय, बिभिन्न सामाजिक संघ संस्था लगाएतका बार्षिकोत्सबमा हुने रक्तदानका कार्यक्रमहरु बार्षिकोत्सब संगै स्थगित हुँदा रगत संकलन गर्न कठिन परेको न्यौपानेले बताउनुभयो । “रक्तदान कार्यक्रमहरु नहुँदा बिरामी र बिरामीका आफन्तले स्रोत भर्ना मार्फत संकलन भएको रगतले मात्रै यहाँका अस्पतालहरुमा रगत उपलव्ध गराउनु परेको छ” उहाँले भन्नुभयो । बिद्यालयहरुमा परिक्षा हुनु , कोरोनाको संक्रमण हुन सक्ने भन्दै कार्यक्रम नहुनुले समस्या परेको उहाँले जानकारी दिनुभयो ।
जिल्लाका अस्पताहरुमा रातो रगत संगै सेतो रगतको माग पनि हुँदै आएको छ । भरतपुर अस्पताल, दुई ठूला मेडीकल कलेज र बिपि कोईराला मेमोरीयल क्यान्सर अस्पताल संगै जिल्लाका अन्य साना अस्पतालहरुमा हुने नियमित शल्यक्रियमा समेत रगत पुर्याउन नसकीएको क्षेत्रीय रक्तसंञ्चार केन्द्र भरतपुरले जनाएको छ ।
अहिले रक्तदाता स्वंयसेबी संस्थाहरुले समेत मानिस जुटाउन समस्या पर्ने गरेको न्यौपानेले बताउनुभयो ।
जिल्लामा दैनिक १५० युनिट हाराहारी रगत आबश्यक पर्ने गर्दछ । कार्यालयले चितवन संगै नवलपुर, बारा, सर्लाही, रौतहट, मकवानपुर लगाएतका जिल्लाबाट रगत संकलन गरेर ल्याउने गरेको थियो । ती जिल्लामा समेत रक्तदान नहुँदा रगतको माग अनुसारको पूर्ती गर्न कठिन भएको उहाँले जानकारी दिनुभयो ।
जिल्लामा माग हुने रगतमध्ये सबैभन्दा बढि विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका बिरामीलाई जाने गर्दछ । यसका साथै भरतपुरको सरकारी अस्पताल, दुई निजी मेडिकल कलेज र निजी अस्पतालमा पनि रगत आबश्यक पर्दछ ।