चितवनः सौराहामा यो समय पर्यटनको आगमन वढ्ने समय हो । फागनु सुरु भए संगै पर्यटकहरुको संख्या वढ्दै जाँदा यहाँका होटल तथा रेटूरेन्टहरु भरिभराउ हुने गदथे । तर छिमेकी मुलुकहरुमा कोरोनाको संक्रमण फैलीए पछि यसको असर सौराहामा देखिन थालेको छ ।
अघिल्ला वर्षहरुमा ९० प्रतिशत सम्म पर्यटक आउने यो समयमा अहिले सौराहामा १५ देखि २० प्रतिशत मात्र पर्यटकहरु रहेको व्यवसायीहरुले बताएका छन् । पर्यटकको आगमन हुँदा भ्याई नभ्याई हुने यहाँका व्यवसायीहरु अहिले यहाँ रहेका कर्मचारीहरुलाई समेत बिदा दिन थालेका छन् । कोरोना भाईरसको त्रासका कारण बाह्य तथा आन्तरिक पर्यटकको आगमन घटे संगै कर्मचारीहरुलाई बिदा दिन थालिएको हो ।
क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईका अनुसार गतबर्ष यतिबेला ९० प्रतिशत हाराहारी होटलका कोठा बुकिङ् हुने गर्दथे । नेपाली कार्यक्रमहरु भईरहेकाले आज सम्म २० प्रतिशत हाराहारी कोठा भरिएको भए पनि दुई दिन पछि यो संख्या निकै न्यून हुने उहाँको भनाई छ । अहिले युरोपियन, भारतिय र नेपाली पर्यटक मात्र रहेका छन् । यस अघि भएका सबै बुकिङ् रद्ध भएका छन् ।
होटलमा पर्यटक नभए पछि कर्मचारीको काम नहुने भएकाले आधा जति होटलले ५० प्रतिशत सम्म कर्मचारीलाई बिदा दिई सकेका छन् । एउटै होटलमा १० जना देखि ७० जना सम्म कर्मचारी रहेका छन् । अन्य होटलले पनि बिदा दिने तयारी गरिरहेका छन् । बिदाको समयमा कर्मचारीलाई आधा तलब दिने गरिन्छ । कर्मचारीलाई काम नभए पनि खुवाउन र बसोबासको व्यवस्था गर्दा थप खर्च आउने भएकाले बिदा दिन सुरु गरिएको हो ।
सौराहाका होटलहरुले १० वर्ष अघि सम्म बर्षातको समयमा पर्यटक नआए पछि जेठ देखि साउन सम्म बिदा दिने गरेका थिए । पछिल्ला बर्षमा त्यस्तो समस्या नभए पनि अहिले समस्या देखिएको भट्टराईको भनाई छ । क्रमश सौराहा सुनसान हुँदै जाने परिस्थिति देखिएको छ ।
संघका निवर्तमान अध्यक्ष सुमन घिमिरे आउँदो महिना व्यवसायीले बैंकको ऋण र किस्ता तिर्न सक्ने अबस्था नरहेको बताउनुहुन्छ । एकिन तथ्याङ्क नभए पनि सौराहाका १ सय १५ वटा होटल बनाउन रु ८ अर्ब भन्दा वढि लगानी भएको घिमिरेको ठम्याई छ । यो लगानी जग्गा बाहेकको हो । सोही हाराहारी बैंकको ऋण भएको घिमिरे बताउनुहुन्छ ।
व्यापार हुन नसक्दा त्यसको किस्ता र व्याज तिर्ने सम्भावना नदेखिएको उहाँको भनाई छ । ऋण व्याज मिनाहा भन्दा पनि व्यवसायीलाई थप समय दिनु पर्ने घिमिरेको तर्कछ । व्यापार ठप्प भए पछि बैंकको कालो सूचिमा पर्ने चिन्ता व्यवसायीमा छ । सौराहामा सबै भन्दा वढि पर्यटक आउने चीन कोरोनाबाट प्रभाबित छ । यस अघि पठाएका पर्यटकको समेत चीनका ट्राभल एजेन्टहरुले भूक्तानी गर्न नसकेको व्यवसायीहरुको भनाई छ ।
सौराहामा द्धन्द्ध काल संगै भूकम्प र नाकाबन्दिको समयमा व्यपारमा निकै गिरावट आएको थियो । अहिले त्यो भन्दा वढि प्रभाब देखिने अबस्था आएको व्यवसायीहरु बताउँछन् । त्यतिवेला आन्तरिक पर्यटक आएको भए पनि अहिले नेपाली समेत बाहिर निस्कन डराएको घिमिरेको भनाई छ । सरकारले सभा, सम्मेलन जस्ता ठूला कार्यक्रम नगर्न अनुरोध गरिसकेको छ ।
कोरोनाको प्रभाव होटलमा देखिए पछि यसले अन्य क्षेत्रमा नराम्रो असर पुर्याएको छ । पर्यटकबाट आश्रीत साना होटल, रेष्टूरेन्ट, पसलहरु, डुङ्गा, हात्ती, जिप, पर्यटक बस जस्ता पर्यटन व्यवसाय प्रभाबित भएका छन् । जसबाट सरकारको राजस्वमा पनि प्रभाब देखिने भएको छ । यस संगै कुखुराको मासु र अण्डाको खपत घटे पछि मूल्यमा गिरावट आउन थालेको छ ।

प्रतिक्रिया दिनुहोस !