भरतपुर महानगरपालिका वडा नम्बर १५ रामपुरमा निर्माणाधिन अन्तराष्टिय गौतमबुद्ध क्रिकेट रंगशालामा खुल्ला तथा वडास्तरिय प्रथम गौतमबुद्ध कप टी २० क्रिकेट प्रतियोगिताु शुरु भएको छ । रंगशाला निर्माण सहयोगार्थ बिहिबारबाट शुरु भएको प्रतियोगिताको राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तानद्वय राजु खड्का र बिनोद दासले संयुक्त रुपमा उद्घाटन गनु भयो । दासले बलिङ र खड्काले ब्याटिङ गरेर प्रतियोगिताको उद्घाटन गनुभएको हो ।

त्यस अघी प्रतियोगिताको उद्घाटन शत्रमा बोल्दै भरतपुर महानगरपालिका शिक्षा शाखा प्रमुख सिताराम कोइरालाले राष्ट्रकै गौरवको रुपमा निर्माण भईरहेको रंगशालामा यस किसिमको प्रतियोगिता आयोजना हुँदा क्रिकेटको माहोल बढ्ने बताउनु भयो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान राजु खड्काले यस किसिमको प्रतियोगिताले नेपालको क्रिकेट बिकासमा ठुलो भूमिका खेल्ने बताउनुभयो । चितवन क्रिकेट एकेडेमीको मुख्य प्रशिक्षक समेत रहेका खड्काले वडा स्तरबाट नै प्रतिभावान खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिता आयोजना गर्न जरुरी रहेको बताउनुभयो ।

राष्ट्रिय क्रिकेट टोलीका अर्का पूर्व कप्तान तथा अण्डर १९ टोलीका प्रशिक्षक बिनोद दासले पर्यटकिय क्षेत्रको रुपमा चिनिने चितवनलाई अब क्रिकेटको हबको रुपमा विश्वले चिन्ने बताउनुभयो । उहाँले जनस्तरबाट नै रगंशाला निर्माण गरेर सम्पूर्ण नेपालीले विश्वमाझ उदाहरण प्रस्तुत गर्न लागेकोमा खुशी व्यक्त गनुभयो ।

कार्यक्रममा भरतपुर २१ का वडाध्यक्ष तथा भरतपुर महानगरपालिका युवा तथा खेलकुद समिति संयोजक चित्रसेन अधिकारी, प्रतियोगिताको प्रमुख प्रायोजक सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रा लिका प्रवन्ध निर्देशक यज्ञ बिलास पौडेल, नेकपा भरतपुर महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष आकाश थापा, नेपाली काँग्रेसका अमृत बाँनिया लगायतले बोल्नुभएको थियो । प्रतियोगिताको आयोजक संस्था चितवन आदर्श युवा क्लबका संयोजक पुष्पराज आचार्यको संयोजकत्व तथा क्लबका अध्यक्ष उमाकान्त आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्ब कप्तान खड्कालाई सम्मान गरिएको थियो ।

प्रतियोगितामा आयोजक चितवन आदर्श युवा क्लब ‘बी’ ले बिजयी सुरुवात गरेको छ । प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा भरतपुर ५ लाई ५४ रनले पराजित गर्दै आयोजक ‘बी’ ले बिजयी सुरुवात गरेको हो ।

निर्माणाधिन रंगशालाको नमुना मैदानमा आयोजक ‘बी’ ले दिएको १४६ रनको लक्ष्य पछ्याएको भरतपुर ५ ले १८ ओभरमा ९१ रन मात्र बनायो ।

प्रतियोगितामा महानगरका २८ टिमले सहभागीता जनाएका छन् । प्रतियोगिताको बिजेताले रु १ लाख सहित ट्रफी तथा उपबिजेताले रु ५० हजारसहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !