चितवनः माडीबासीका मागहरुलाई लिएर अनसनरत माडी नगरपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष कृष्ण प्रसाद पौडेललाई अनसन तोडन नौ राजनैतिक दलले आग्रह गरेका छन । प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई सहित जिल्लामा क्रियाशिल राजनैतिक दलको आज जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले पौडेलको स्वास्थ्य अबस्था बिग्रदै गएको भन्दै अनसन तोड्न आग्रह गरेको हो ।
बैठक पछि दलहरुले जारी गरेको बिज्ञप्तिमा पौडेलले राखेका मागहरु प्रति आँफुहरुको ऐक्यबद्धता रहेको भन्दै उहाँका मागहरु अबिलम्ब पुरा गर्न र उहाँको जीवन रक्षाका लागि सरकार संग माग गर्ने निर्णय समेत गरिएको उल्लेख छ । बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपाली काङ्ग्रेस, राप्रपा संयुक्त, समाजबादी पार्टी, राष्ट्रिय जनता पार्टी, साझा पार्टी, राप्रपा, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय नागरिक पार्टीका जिल्ला अध्यक्ष एबं प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
स्वास्थ्य अबस्था बिग्रिए पछि पौडेललाई आज बिहान उपचारका लागि भरतपुर अस्पताल ल्याईएको छ । उहाँको सघन उपचार कक्षमा उपचार भईरहेको छ । अस्पतालले आज जारी गरेको बिज्ञप्तिमा उहाँको अबस्था स्थिर तर जोखिमपूर्ण रहेको जनाएको छ । यसै बिच नेपाली काङ्ग्रेस चितवनले उहाँको माग सम्बोधन गर्न दबाव दिदै संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ । जस अन्तर्गत आज दिउँसो भरतपुरको चौबिसकोठीमा एक घण्टा चक्काजाम गरिएको थियो ।
राष्ट्रिय निकुञ्ज ऐन २०२९ लाई जनपक्षीय बनाउनु पर्ने उहाँको माग छ । राष्ट्रिय निकुञ्ज सम्बन्धी २०२९ को बिनियम संसोधन गर्न बनेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौ शंसोधन) नियमावली २०७६ ले माडी जस्तो बहुउपेक्षित क्षेत्रलाई खासै सम्बोधन गर्न नसकेको हुँदा मानव अधिकार सहितको संरक्षणका लागि पुनः शंसोधन हुनुपर्ने, बाँदरझुला साथै अमिलियाको उचित व्यवस्था गरिनु पर्ने, मानव वन्यजन्तु द्वन्द्व निवारणका लागि ठोस रुपमा वन र बस्तीबीच वैज्ञानिक संरचना बनाउनुपर्ने साथै उत्तरी सीमानामा पर्ने रीउ खोला कोरिडोरको निर्माण व्यवस्थित गरिनुपर्ने माग रहेका छन् ।
यस्तै लागत तथा उत्पादनको आधारमा वालीको क्षतीपूर्तिको व्यवस्था गरिनु पर्ने, कसरादेखि वनकट्टा साथै बगहीदेखि बाँदरझुलासम्म बाटो पूर्णरुपमा स्तरोन्नति गरी चौबिसै घण्टा आवत जावतको व्यवस्था गरिनुपर्ने, माडी नगरपालिकालाई कृषि, पर्यटनको केन्द्रको रुपमा विकास गर्न बिशेष योजना ल्याईनु पर्ने, प्राकृतिक श्रोत साधनमा पूर्ण रुपमा स्थानीय निकायको अधिकार हुनुपर्ने मागहरु उहाँका छन् ।
उहाँ फागुन ७ गतेबाट आमरण अनसनमा रहनु भएको छ ।