चितवनः छ दिनदेखि आमरण अनसन बसिरहनु भएका माडी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष कृष्ण पौडेलको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उपचारका लागि भरतपुर अस्पताल ल्याईएको छ । माडी नगरपालिकाका जनताका सरोकारका विषयलाई लिएर उहाँ फागुन ७ गतेबाट अनसनमा बस्नु भएको थियो ।

अनसनका क्रममा उहाँको स्वास्थ्य जटिल बन्दै गए पछि आईतबार स्वास्थ्य अवस्थाको बारेमा भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीराम तिवारीसहितको टोलीले परीक्षण गरेको थियो । परिक्षणका क्रममा उहाँको पिसाबमा किटोनको मात्रा २ नाघेको थियो । सामान्य मानिसमा शुन्य हुनु पर्ने किटोनको मात्रा बढेको हो । त्यसैगरी शरीरमा चाहिने ग्लुकोजको मात्रा घटेपछि शरीरबाटै प्रोटिन र फ्याट टुक्रिएर ग्लुकोज बन्न थालेको, अक्सिजनको मात्रा घटेको, मुटुको चाल बढेदै गएको र अनियमित बनेको थियो ।
यो संगै उहाँको स्वास्थ्य गम्भिर बनेपछि थप उपचारका लागि आज बिहान भरतपुर अस्पतालमा ल्याईएको हो । अस्पतालको सघन उपचार कक्षमा राखेर पौडेलको उपचार भईरहेको छ । उहाँको उपचारमा सम्लङ्न भरतपुर अस्पतालका चिकित्सक प्रमोद पौडेलले अनसनरत पौडेलको परिक्षण हुने कार्य भईरहेको जानकारी दिनुभयो । आज उहाँको शरिरको बिभिन्न भागको मासु फरफर गरेको र रक्तचापमा कमि आएको छ । अस्पतालमा बिभिन्न परिक्षणका लागि नमुना पठाईएको र नमुनाको नतिजा आए संगै अन्य बिषयमा भन्न सकीने उहाँले जानकारी दिनुभयो ।
यसैबिच अनसनरत पौडेलको माग सुनुवाई नभएको भन्दै स्थानीयले आज माडी बन्द गराएका छन् । जसका कारण माडी हुँदै सदरमुकाम चल्ने सवारी साधन र त्यहाँका बजारहरु ठप्प भएको ईलाका प्रहरी कार्यालय माडीले जनाएको छ । माग पुरा गर्न दबाब स्वरुप स्थानीयले आईतबार माडी क्षेत्रमा रहेका चार वडा मध्यवर्ती उपभोक्ता समितिमा पुगेर त्यहाँका कार्यालय बन्द गराएका थिए ।

राष्ट्रिय निकुञ्ज ऐन २०२९ लाई जनपक्षीय बनाउनु पर्ने उहाँको माग छ । राष्ट्रिय निकुञ्ज सम्बन्धी २०२९ को बिनियम संसोधन गर्न बनेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौ शंसोधन) नियमावली २०७६ ले माडी जस्तो बहुउपेक्षित क्षेत्रलाई खासै सम्बोधन गर्न नसकेको हुँदा मानव अधिकार सहितको संरक्षणका लागि पुनः शंसोधन हुनुपर्ने, बाँदरझुला साथै अमिलियाको उचित व्यवस्था गरिनु पर्ने, मानव वन्यजन्तु द्वन्द्व निवारणका लागि ठोस रुपमा वन र बस्तीबीच वैज्ञानिक संरचना बनाउनुपर्ने साथै उत्तरी सीमानामा पर्ने रीउ खोला कोरिडोरको निर्माण व्यवस्थित गरिनुपर्ने माग रहेका छन् ।
यस्तै लागत तथा उत्पादनको आधारमा वालीको क्षतीपूर्तिको व्यवस्था गरिनु पर्ने, कसरादेखि वनकट्टा साथै बगहीदेखि बाँदरझुलासम्म बाटो पूर्णरुपमा स्तरोन्नति गरी चौबिसै घण्टा आवत जावतको व्यवस्था गरिनुपर्ने, माडी नगरपालिकालाई कृषि, पर्यटनको केन्द्रको रुपमा विकास गर्न बिशेष योजना ल्याईनु पर्ने, प्राकृतिक श्रोत साधनमा पूर्ण रुपमा स्थानीय निकायको अधिकार हुनुपर्ने मागहरु उहाँका छन् ।

प्रतिक्रिया दिनुहोस !