चितवनः छिमेकी देश चीनमा नोभेल कोरोना भाईरस देखिए पछि यहाँको पर्यटकीय क्षेत्र सौराहामा पर्यटकको आगमनमा निकै कमी आएको छ । बिदेशी पर्यटक मध्ये आधा भन्दा बढि चीनका पर्यटक यहाँ आउने गर्दछन् ।
क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईले सौराहा पूर्ण रुपमा सुरक्षित भएको सन्देश स्वदेश र बिदेशमा पुर्याउन जरुरत देखिएको बताउनुभयो । नेपाल देशनै कोरोना भाईरसबाट सुरक्षित भएको भन्दै उहाँले चीनको रोग देखिएका शहरबाट पर्यटक यहाँ नआएकाले यस क्षेत्र पूर्ण रुपमा सुरक्षित रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “चीनबाट पनि पर्यटक नआउने र अन्यत्रबाट पनि पर्यटक आएनन् भने यहाँको व्यवसाय धरासायी हुन्छ ।”
अहिले चीनको भाईरस देखिएका क्षेत्रबाट पर्यटकहरु नेपाल आएका छैनन् । सौराहा क्षेत्रमा पहिले आएका र नेपाल बसोबास गर्दै आएका चिनियाँ बाहेकका पर्यटक छैनन् । गत सालहरुमा यतिबेला दैनिक सात सय हाराहारी चिनियाँ पर्यटक आउने गर्दथे । यतिबेला फाट्ट फुट्ट मात्र चिनिया पर्यटक रहेका छन् ।
स्वदेशी, भारतिय र यूरोपियन गरि दैनिक २ सय ५० देखि ४ सय पर्यटकले अहिले सौराहा धानेको उहाँको भनाई छ । संघका निवर्तमान अध्यक्ष सुमन घिमिरेले समयमानै हामी सुरक्षित छौ भन्ने संदेश स्वदेश र बिदेशमा प्रबाह गर्न सकेमा चिनिया पर्यटक कम भए पनि अन्य पर्यटकले धान्न सक्ने बताउनु भयो ।
सौराहा आउने पर्यटकका लागि यो मौषम निकै राम्रो मानिन्छ । बन भित्र बाघ, गैंडा जस्ता जनावर संगै चराचुरुङ्गी अबलोकनका लागि उपयुक्त समय भएको भन्दै घिमिरेले मौषमको हिसाबले पनि चितवन यतिवेला राम्रो रहेको बताउनुभयो । यहाँ गर्मी पनि छैन र जाडो पनि हट्दै गएको छ । चिनियाँ पर्यटकको बुकिङ्ग रद्द भएका छन् । कोरोना भाईरसको त्रासले अन्य मुलुकका पर्यटकले पनि यहाँको अबस्थाको बारेमा बुझेर मात्र आउने गरेका छन् । कतिपयले भ्रमण रद्द समेत गर्ने गरेका छन् ।

नेपाल सुरक्षित छ भन्ने संन्देश प्रबाह गर्न सकेमा बिदेशी पर्यटकहरुको भ्रमण तालिका रद्द नहुने र संख्या वढ्न सक्ने अनुमान गरिएको छ । सौराहा आउने बिदेशी पर्यटक अन्तर्राष्ट्रिय बिमानस्थल र भरतपुर बिमानस्थलको स्वास्थ्य कक्षमा परिक्षण गरेर मात्र पुग्ने भएकाले सुरक्षित भएकाहरुमात्र पुग्ने गरेका छन् । यस संगै सबै होटलहरुमा उच्च सतर्कता अपनाईएको र कुनै कोरोना भाईरसको लक्ष्यण देखा परेमा तत्काल यहाँको सरकारी भरतपुर अस्पताल संग समन्वय गरेर उपचार गर्ने व्यवस्था समेत गरिएको छ ।
सौराहा क्षेत्रमा १ सय १५ होटल रहेका छन् । जसमा ६ हजार हाराहारी क्षमता रहेको छ ।

प्रतिक्रिया दिनुहोस !