चितवनः गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक सहयोग जुटाउन आज देखि सुरु श्रीमद्भागवत महापुराण एवं धनधान्यान्चल महोत्सबको २२ बिधाका राष्ट्रिय खेलाडीहरुले उद्घाटन गरेका छन् । उनीहरुले रिमोटबाट पर्दा हटाएर औपचारीक रुपमा महायज्ञको शुभारम्भ गरेका हुन ।
भरतपुर महानगरपालिका वडा नम्बर १५ रामपुरमा रंगशाला निर्माणाधिन स्थलमा माघ २६ गते सम्म आयोजना हुने महायज्ञको शुभारम्भ समारोहमा हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, प्रमुख बाचक पण्डीत दिनबन्धु पोख्रेल सहित जिल्लाका राजनैतिक दलका प्रमुख, संघिय र प्रदेश सभा सदस्य, एबं जनप्रतिनिधिहरुले दिप प्रज्वलन गरि महायज्ञको शुभारम्भ संगै सफलताको कामना गरेका थिए ।
कार्यक्रममा प्रमुख बाचक पोख्रेल, हास्यकलाकार श्रेष्ठ, आचार्य, धुर्मुश सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल, राष्ट्रिय खेलाडी दिपक बिष्ट, लुम्बिनि बिकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी भिक्षु मेत्तेय, संघिय सांसद कृष्णभक्त पोख्रेल, राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल, प्रदेश सभा सदस्य कृष्ण भूर्तेल, बलराम पौडेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यम वहादुर परियार, नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
महायज्ञ उद्घाटन समारोहमा प्रमुख बाचक पोख्रेलले महायज्ञ भर निशुल्क बाचन गर्दै रु १ लाख ११ हजार १ सय ११ सहयोग गर्ने घोषणा गर्नु भयो । उहाँको घोषणा संगै रंगशाला निर्माणका लागि बिभिन्न व्यक्तिले आर्थिक सहयोगको घोषणा गरेको महायज्ञ मुल आयोजक समितिका संयोजक बिजय सुवेदीले जानकारी दिनुभयो ।
महायज्ञ उद्घाटन हुनु पूर्व भरतपुर महानगरपालिकाका २९ वडा बाट बिभिन्न झाँकी सहित शोभायात्रा निकालिएको थियो । बिभिन्न टोल सुधार संस्था, आमा समुहहरु, बिभिन्न जात जातीका संस्कृति झल्कने शोभा यात्रा सहित ठूलो समुह रगशाला निर्माण स्थलको महायज्ञ परिषर पुगेको थियो । धुर्मुश सुन्तली फाउण्डेसनको अगुवाईमा रंगशाला निर्माण हुन लागेको हो । रंगशाला निर्माणका लागि रु २ अर्ब ५० करोड लाग्ने अनुमान गरिएको छ ।