चितवनः धादिङ्को गल्छि गाउँपालिकाको अगुवाईमा रामपुरमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई एक सय ट्रिपर बालुवा आज उपलव्ध गराईएको छ । धादिङ्बाट एक सयवटा ट्रिपरले बालुवा बोकेर रंगशला आएका हुन ।
गल्छि गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष राजु अधिकारीका अनुसार एउटा ट्रिपरमा २ सय ६५ क्यूफिट बालुवा रहेको छ । दुई पटक धोएको सो बालुवाको एक ट्रिपरको मूल्य रु ३० हजार हाराहारी पर्ने उहाँले जानकारी दिनुभयो । सबै बालुवा रु ३० लाख बराबरको रहेको थियो । गाउँपालिकाले बालुवा र धोएको खर्च बेहोरेको र नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति कलंकीले ढुवानीको व्यवस्था गरेको अधिकारीले जानकारी दिनुभयो ।
भरतपुर महानगरपालिका वडा नम्बर १५ रामपुरमा रंगशाला निर्माणाधिन रहेको छ । रंगशालामा रु ५० करोड संकलन गर्ने लक्ष्यका साथ आईतबारबाट धनधान्यान्चल महायज्ञ समेत गरिदै छ । रु २ अर्ब ५० करोडको लगानीमा जनस्तरबाट रंगशाला निर्माण गर्न लागिएको हो । यसको नेतृत्व ध्रुर्मुश सुन्तली फाउण्डेसनले गरेको छ ।