
चितवनः स्वास्थ्य तथा जनसंख्य मन्त्री भानुभक्त ढकालले कोरोना भाईरसको आशंका भएका बिरामीहरुलाई अस्पताल बाहिर छुट्टै उपचार केन्द्र स्थापना गर्ने बिषयमा सरकारले सोच बनाएको बताउनुभएको छ । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्दै उहाँले २ देखि १४ दिन सम्म यो भाईरसले अर्कालाई संक्रमण गराउन सक्ने भएकाले व्यारेकको जस्तो गरि उपचार केन्द्र स्थापना गर्ने सोच बनाईएको बताउनुभयो ।
अस्पतालमा राखेर उपचार गर्दा बिरामीको चाप वढ्न सक्ने भन्दै मन्त्री ढकालले भन्नुभयो “ १४÷१५ दिन सम्म कयौं बिरामीलाई हामीले राख्यौ । तर त्यो रोगी रहेनछ भने निगरानीमा राख्न पनि मिल्छ । अस्पतालमा बिरामीको चाप वढेर लामो समय राख्न कठिन हुन्छ ।” उहाँले नयाँ व्यवस्थापन गरेर व्यारेक स्टाईलमा राख्न सक्ने भन्दै अहिले बिभिन्न ठाउँमा रहेका तालिम केन्द्रहरुलाई व्यवस्थित गरेर त्यस्ता उपचार केन्द्र स्थापना गर्न पनि सकीने बताउनुभयो । ती स्थानमा खाने बस्ने र उपचार उपलव्ध गराउने गरि व्यवस्थापन गराउन सकीने उहाँले जानकारी दिनुभयो । बिरामीको संख्याको आधारमा केन्द्र बनाईने उहाँले बताउनुभयो ।
सरकारले अहिले एक सय भन्दा बढि शैयाको बिशेष उपचार (आईसोलेसन) कक्ष तयारी अबस्थामा राखेको उहाँले जानकारी दिनुभयो । २५ शैयाका दुईवटा घुम्ति अस्पताल पनि रहेको उहाँको भनाई थियो । रोगबाट बच्नका लागि सरकारले अपनाउनु पर्ने साबधानीहरु सबै अपनाएको भन्दै उहाँले अन्तर्राष्ट्रिय बिमानस्थलमा सहयोग कक्ष राखेर चेकजाँच गर्ने काम भईरहेको बताउनुभयो । विश्व स्वास्थ्य संगठनको मापदण्ड, सुझाब र निर्देशनहरु अनुसार अघि बढेको उहाँको भनाई थियो ।
हाल सम्म नेपालमा पाँच जना बिरामीलाई रोगको आशंका भएकाले परिक्षण गरिएकोमा तीन जनामा नेगेटिभ देखिएको र बाँकी दुई जनालाई निगरानीमा राखिएको मन्त्री ढकालको भनाई थियो ।
चीनमा रहेका बिद्यार्थीहरुलाई फर्काउने बिषयमा आवश्यक गृहकार्य अघि वढाईएको उहाँले जानकारी दिनुभयो । मन्त्री ढकालले भन्नुभयो “प्रकृया अघि वढेको छ । अन्य देशले पनि बिद्यार्थी फिर्ता लगेको खवर छ । प्रकृया पुर्याएर ल्याउनु पर्छ भन्ने सन्दर्भमा सरकार जुटेको छ ।”मन्त्री ढकालले सर्बसाधारण र उपचारमा संलङ्न चिकित्सक, स्वास्थ्य कर्मी सबैलाई साबधानी अपनाउन आग्रह गर्नुभयो ।
फरक प्रसङ्गमा मन्त्री ढकालले संघ मातहत रहेका अस्पतालहरुमा बिकास समिति गठनका लागि प्रकृया अघि वढेको बताउनुभयो । स्तरोन्नती भएका अस्पतालहरुमा प्राप्त स्रोत, साधन उपयोग गरि उपचारमा लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो ।