चितवनः राप्ती नगरपालिकाले पहाडी क्षेत्रमा बसोबास गर्ने २० वटा विद्यालयका २ हजार ८ सय जना बालबालिकालाई स्वीटर वितरण गरेको छ । नगरपालिकाको वडा नं. १०, ११, १२ र १३ का विद्यालयहरुमा अध्ययनरत विद्यार्थीलाई स्वीटर वितरण गरिएको हो ।
नगर प्रम्ुख प्रभा बरालका अनुसार नगरपालिकाले बजेट विनियोजन गरी रु.८ लाख ६७ हजारको स्वीटर खरिद गरी वितरण गरेको हो । सो क्षेत्रमा ६० प्रतिशतभन्दा बढी चेपाङ समुदाय बसोबास गर्दछन् ।
विगत वर्षहरुमा ती विद्यार्थीलाई देखाएर आर्थिक संकलन गरी केही रकमको स्वीटर किनेर दिए पनि सबैले पाउन सकेका थिएनन् । बरालले यिनै विद्यार्थीलाई देखाएर आर्थिक चलखेल र दरिद्र बनाउने गरेपछि आफूले कसैलाई पनि स्वीटर बाड्न नदिएर नगरपालिकाले नै स्वीटर दिएको बताउनुभयो ।
सो क्षेत्र जिल्लाको पहाडी ग्रामीण क्षेत्र हो । पहिले पहिले नयाँ मान्छे स्कुल क्षेत्रमा पुगेपछि विद्यार्थी भाग्ने गर्दथे । तर पछिल्ला वर्षहरुमा विकास हुँदै गएपछि स्थानीयको जीवनस्तरमा सुधार हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस !