
चितवन, १० माघ
पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्नि सापकोटाकामाथि कुनै मुद्दा नरहेको बताउनु भएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले सापकोटामाथि मुद्दा छ भनेर गरिएको प्रचार असत्य भएको बताउनुभयो ।
प्रतिनिधिसभाका सभामुख पदमा नेपाल कम्युनिष्ट पार्टीबाट सिफारिस भई निर्विरोध हुनु भएका सापकोटाका विरुद्धमा मुद्दा भएको सन्दर्भमा सोधिएको प्रश्नमा दाहालले भन्नुभयो “मैले पटकपटक भनिरहेको छु, अग्नि सापकोटामाथि कुनै मुद्दा छैन ।” सिंगै संसदले उहाँलाई स्वीकार गरिसकेको भन्दै उहाँले थप्नुभयो “उहाँको पक्षमा राष्ट्र एकठाउँमा उभिईसक्यो, यो विषय अनावश्यक रुपमा प्रचार गर्नु कुनै औचित्य छैन ।”
दाहालको गृहजिल्ला चितवनमा केही समय यता प्रहरी प्रमुखविहिन भएको सन्दर्भमा सोधिएको प्रश्नमा उहाँले सरकारले आफ्नो अनुकुलतामा प्रहरी प्रमुख पठाउने बताउनुभयो । प्रहरी नायव उपरीक्षकले राम्रै काम गरिराख्नु भएको भन्दै दाहालले प्रश्न गर्नुभयो “यहाँ सुरक्षा खतरा पैदा भएको छ र ? मलाई त केही भए जस्तो लागेको छैन ।” प्रहरी प्रमुख को आउनुहुन्छ भन्ने कुरा सरकारले नै भन्ने उहाँले बताउनुभयो ।
दाहाल नवलपरासीमा हुने दुई कार्यक्रममा सहभागी हुन हवाई मार्ग हुँदै यहाँ आउनु भएको हो ।