चितवनः पवित्र तीर्थस्थल देवघाट धाममा माघे संक्रान्तिमेला भर्न आउने तिर्थालु भक्तजनहरुको घुईचो लागेको छ । मंगलबार बिहान बेनीमा बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो ।
यस संगै देबघाटमा भक्तजन आउने क्रम वढ्दै गएको हो । देवघाट क्षेत्र बिकास समितिका अध्यक्ष शिबराज पौडेलका अनुसार ठूलो संख्यामा भक्तजनहरु देवघाटमा रातभर जागराम बसेका थिए । बिहान स्नान गरेर फर्कने र स्नान गर्न आउनेहरुको भिड लागेको छ ।
पौडेलका अनुसार देशभर र भारतीय बिभिन्न क्षेत्रबाट भक्तजनहरु आउने क्रम जारि रहेको छ । मेलालाई व्यवस्थित गरिएकाले तिर्थालु भक्तजनहरुले सहज रुपमा स्नान र पुजापाठ गर्न पाएको उहाँले जानकारी दिनुभयो ।
मेलामा पाँच देखि सात लाख भक्तजन आउने अनुमान गरिएको छ । देवघाट आउने सवारीसाधनलाई ठिमुरा, रामनगर र दासढुङ्गाबाट आउने व्यवस्था मिलाइएको छ भने फर्कदाँ ती सवारीले आँपटारीको बाटो प्रयोग गरेका छन् । दासढुङ्गामा देवघाट जोड्ने पुल सम्पन्न भएकाले सो पुल प्रयोग गरेर आउनेहरु देवघाट सम्मनै सवारी साधनमा आई पुगेका छन् ।
देवघाट क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेल आपतकालीन उद्धारका लागि सशस्त्र प्रहरी तयारी अवस्थामा रहेको जानकारी दिनुभयो । यस्तै डुङ्गासहितको उद्धारका लागि नेपाली सेना पनि जुटेको छ ।
ज्योतिष शास्त्रअनुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो । सो दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामा र रात छोटा हुँदै जाने विश्वास गरिन्छ ।
भविष्य पुराण, विष्णुवचन तथा धमसिन्धु नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी भइने जनविश्वास रहि आएको छ ।

प्रतिक्रिया दिनुहोस !