चितवनः पवित्र तीर्थस्थल देवघाटको बेनीमा आज बिहान बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ ।
नेपाल सन्त समाजका अध्यक्ष एवं हरिहर सन्यास आश्रमका पिठाधीश ज्ञानानन्द सरस्वती, महेश सन्यास आश्रमका पिठाधीश रमाणानान्द गिरी, अभय वेदान्त साधना कुटिरका स्वामी कृष्णानन्द सरस्वती, गलेश्वर आश्रमका उपाध्यक्ष अद्देतानन्द गिरी, सन्तमहन्त, बटुकहरु लगायतका विशिष्ठ व्यक्तिको उपस्थितमा बाँसको लिङ्गो ठडाईएको हो । यस अघि गलेश्वर आश्रममा भेला भएर बिधिवत रुपमा लिङ्गो सहित बेनीमा पुगिएको थियो ।
यस संगै चितवन, तनहुँ र नवलपरासीको संगमस्थल पबित्र भूमी देवघाटमा माघे सक्रान्ति मेला सुरु भएको छ ।
देवघाट क्षेत्र बिकास समितिका अध्यक्ष शिबराज पौडेलका अनुसार मेलालाई व्यवस्थित बनाईएको छ । बिभिन्न उपसमितिहरु मार्फत मेला व्यवस्थापन गरिएको जानकारी उहाँले दिनुभयो । मेलामा पाँच देखि सात लाख भक्तजन आउने अनुमान गरिएको छ ।
देवघाट आउने सवारीसाधनलाई ठिमुरा, रामनगर र दासढुङ्गाबाट आउने व्यवस्था मिलाइएको छ भने फर्कदाँ ती सवारीले आँपटारीको बाटो प्रयोग गर्ने छन् । दासढुङ्गामा देवघाट जोड्ने पुल सम्पन्न भएकाले सो पुल प्रयोग गरेर जाँदा देवघाट सम्मनै सवारी पुर्याउन सकीने छ । अध्यक्ष पौडेलले भक्तजनहरुले सो पुल प्रयोग गरेमा हाल प्रयोग हुँदै आएको बाटोको सवारी चाप घट्ने बताउनुभयो ।

दासढुङ्गाबाट जाँदा चार किलोमीटर सवारी यात्रा गरेर देवघाटनै पुग्न सकीन्छ । देवघाट क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले सवारीको पार्किङ्, विद्युत, शौचालय, सरसफाइ, खानेपानी लगायतको व्यवस्था भइसकेको बताउनु भयो ।
आपतकालीन उद्धारका लागि सशस्त्र प्रहरी तयारी अवस्थामा रहेका छन् भने डुङ्गासहितको उद्धार टोली तैनाथ गएको छ । नेपाली सेना पनि उद्धारमा जुट्ने जनाईएको छ । चितवन र तनहुँ जोड्ने झोलुङ्गे पुलको मर्मत सम्भार गरिएको छ । पुलमा लामबद्ध भएर जान र आउनका लागि स्वयंसेवक र सुरक्षाकर्मी परिचालन गरिएका छन् । नदीको नुहाउन मिल्ने ठाउँ पहिचान गरी सिमाङ्कन गरीएको छ ।
सङ्क्रान्तिको अघिल्लो रात आज धाममा करीब दुई लाख ५० हजार भक्तजन दीप प्रज्वलन गरी भजनकीर्तनमा सरिक हुने अनुमान रहेको छ । आजबाटै भक्तजन आउने क्रम शुरु भएको छ । ज्योतिष शास्त्रअनुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो । सो दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामा र रात छोटा हुँदै जाने विश्वास गरिन्छ ।
भविष्य पुराण, विष्णुवचन तथा धमसिन्धु नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी भइने जनविश्वास रहिआएको छ ।

प्रतिक्रिया दिनुहोस !