
क्यानवेरा (रासस): स्थायी बसोबासका लागि सहज हुने भए पछि अष्ट्रेलिया आएका नेपालीहरुको आकर्षण संघिय राजधानी क्यानवेरा बन्न थालेको छ । बिद्यार्थीका रुपमा अष्ट्रेलियाका अन्य बिभिन्न शहरमा नेपालीको क्यानवेरा बसाई सराईको क्रम बढ्दो रहेको छ ।
राजधानी क्यानवेरा व्यवस्थित र शान्त शरह हो । जहाँ ४ लाख हाराहारी जनसंख्या रहेको छ । क्यानबेरामा बिगत १२ बर्ष देखि बसोबास गर्दै आउनु भएका गैर आबासीय नेपाली संघ क्यानबेरा क्षेत्रका उप संयोजक अशोक बस्नेत आँफुहरु आँउदा २ सयको हाराहारीमा रहेका नोपालीको संख्या हाल ५ हजार नाघेको बताउनु हुन्छ ।
यसरी नेपालीको आकर्षण वढ्नुमा अष्ट्रेलियन क्यापिटल टेरीटोरी स्थानीय सरकारले अबलम्बन गरेको अध्यागमन नीति नै प्रमुख कारण भएको क्यानवेरामा नेपालीहरु द्धारा संञ्चालीत पहिलो शैक्षिक तथा अध्यागमन परामर्श केन्द्रका निर्देशक आदर्शजंग पाण्डेले बताउनु हुन्छ । यहाँको सरकारले केन्द्र सरकारको नीति अनुसार अष्ट्रेलियाका मूख्य शहर भन्दा क्षेत्रीय शहरमा आप्रबासीको संख्या बढाउने कार्यलाई प्राथमीकता दिएको छ । नेपालबाट सोझै यहाँ आउने अन्य शहरहरुबाट अध्ययन गरि स्थायी बसोबास (पि आर)का लागि यहाँ आउने गरेका छन् ।
नेपालीहरुको संख्या उल्लेख्य बृद्धि भए संगै नेपालीहरुको बिभिन्न संघ संस्थाका गतिबिधि पनि बढेका छन् । दुई चार बर्ष अघि सम्म नेपाली चलचित्र प्रदर्शन र नेपाली कलाकारका प्रस्तुतीहरु खासै नरहेको भए पनि पछिल्ला बर्षहरुमा ती गतिबिधिहरु बढेका छन् । यहाँको अष्टे«लिया नेपाल फ्राईन्डसिप सोसाईटीका गतिबिधि पनि बढ्दै गएको छ । ३७ बर्ष अघि यहाँका अष्टे«लियन र केही नेपाली बिद्यार्थीहरुले यो संस्था स्थापना गरेका थिए ।
संस्थाको पहिलो महिला अध्यक्ष खुस्बु न्यौपाने पछिल्ला बर्षहरुमा अष्ट्रेलियाका अन्य शहरमा रहेका नेपाली बिद्यार्थी पनि यहाँ आउने क्रम निकै बढेको बताउनु हुन्छ । नेपालीको संख्या बढे संगै सोसाईटीले नेपालका हितमा बिभिन्न कार्यक्रमहरु ल्याएको उहाँको भनाई छ ।
यहाँका अधिकांश आबास क्षेत्रहरुमा नेपाली भेट्न सकीन्छ भने अधिकांश अस्पताल, व्यवसायीक मल, सरकारी कार्यालयहरु, व्यापारीक केन्द्र, बिश्वबिद्यालय लगाएतमा नेपाली कार्यरत रहेको देख्न सकीन्छ । यहाँ नेपालीहरुको खेल प्रति रुची र गतिबिधि उल्लेख्य रुपमा बढेको छ । नेपालीहरुले क्यानवेरा नेपाली फुटबल क्लब, भलिबल क्लब र क्रिकेट क्लब गठन गरेर सामुहीक खेलकुद गतिबिधि संञ्चालन गर्दै आएका क्रिकेट क्लबका अध्यक्ष कमल आचार्यले बताउनु भयो ।
सन २०२० को अप्रिलमा अष्ट्रेलिया र छिमेकी देशमा नेपालीको सहभागीतामा क्यानवेरामा बृहत मेला हुने गरेको कार्यक्रमका ससंयोजक तथा अष्ट्रेलिया सरकारका बरिष्ठ जलस्रोत बिज्ञ डा. दुर्गादत्त कंडेलले बताउनु भयो ।
यहाँको सरकारी अस्पताल क्यानवेरा अस्पतालमा कार्यरत अष्ट्रेलिया नेपाल फ्रेण्डसीप सोसाईटीका जनसम्पर्क अधिकृत समीर अधिकारी स्थायी बसोबास र शुनिश्चित भबिश्यको सहजताका लागि यहाँ नेपाली आउन क्रम बढेको बताउनु हुन्छ । यही शहरमा अष्ट्रेलियाका लागि नेपाली राजदुताबास रहेको छ । अष्ट्रेलियाको संघिय सरकारको संसदका दुबै सभा, प्रधानमन्त्री एवं मन्त्रीहरुको कार्यालय सबै यहि छन् ।
क्यानबेरामा नेपालीहरुका लागि उपयुक्त देखिए पनि राज्य तथा केन्द्र सरकारका अध्यागमन नीति नियमको बारेमा बुझेर मात्रै आउनु पर्ने यहाँको अध्यागमन सम्बन्धि जानकार बिक्रम सुबेदी बताउनु हुन्छ ।