क्यानबेरा, (अष्ट्रेलिया) (रासस): नेपाल र अष्ट्रेलिया बिच सिधा उडानका लागि पहल गरिएको छ । नेपाल सरकारको पहलमा अक्टोबर २ तारिखमा अष्ट्रेलिया सरकार संग हवाई सम्झौता भएको थियो ।
एक लाख ५० हजार हाराहारी नेपाली अष्टे«लियामा बसोबास गर्दै आएका छन् । सिधा उडान नहुँदा उनीहरु र यहाँबाट नेपाल घुम्न जाने पर्यटक बिभिन्न देशका बिमानस्थलमा लामो ट्रान्जिटमा परेर आउन जान वाध्य रहेका छन् ।
सिड्नी बिमानस्थलले प्रकाशित गरेको तथ्याङ्क अनुसार यो बर्ष मात्र काठमाण्डौबाट सिड्नी आउने यात्रुको संख्या १ लाख २१ हजार २ सय ६० पुगीसकेको छ । जुन सिड्नी बिमानस्थल संग सिधा उडान सम्पर्क नभएका देशको बिमानस्थलहरुको सबै भन्दा ठूलो संख्या हो ।
अष्ट्रेलियाको नागरिक उड्यन सेवा प्रदायक संस्था बिगत १२ वर्ष देखि कार्यरत ई.राजु अधिकारीका अनुसार यो संख्या दैनिक सिधा उडानको लागि निकै फाईदाजनक देखिन्छ । उहाँका अनुसार सिधा हवाई सम्पर्क भएमा सिड्नी बाहेकका शहरमा जाने यात्रुहरुलाई पनि यही बाटो प्रयोग गर्ने छन् । जसले गर्दा सिधा उडान प्रभाबकारी हुने गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समिति सदस्य समेत रहनु भएका अधिकारीले बताउनु भयो ।
यहाँका बिभिन्न संञ्चार माध्यममा प्रकाशित समाचारहरुमा स्थानीय हवाई प्रदायकहरु भने काठमाण्डौ सिधा उडान गर्न अनिच्छुक रहेको उल्लेख छ । अष्ट्रेलियन कम्पनिहरुले भारतका शहरबाट समेत हालसम्म उडान गरेको पाईदैन । नेपाल एयरलाईन्सले काठमाडौं र सिड्नी बिच सिधा उडानका लागि सम्भाव्यता अध्ययन गरिएको जनाएको छ । सिड्नी काठमाडौंको दुरी लगभग १० हजार किलोमिटर रहेको छ ।
अष्ट्रेलियाका लागि नेपाली राजदुत महेशराज दाहालले सम्झौता पछिका प्राबिधिक पक्षहरुका बिषयमा निरन्तर छलफल भैरहेको बताउनु भयो । यही जनवारी ७ तारिखमा पर्यटन तथा नागरीक उड्ययन मन्त्री योगेश भट्टराईको यहाँ भ्रमण हुने समयमा यहाँका उच्च अधिकारीसंग भेटघाटका लागि पहल आँफुले गरिरहेको उहाँले बताउनु भयो ।
अष्ट्रेलियाको सिड्नी आसपासको क्षेत्रहरु क्यानवेरा, गोलवन, वागावागा, डव्वो लगाएतका क्षेत्रमा बसोबास गर्ने नेपालीहरु यसबाट लाभान्बीत हुने गैर आबासीय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष चुडामणी सापकोटा बताउनुहुन्छ । साथै सिधा उडानले नेपालको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाब पार्ने उहाँले जानकारी दिनुभयो । यसका लागि आबश्यक सहयोग गर्न गैर आबासीय नेपालीहरु सकारात्मक रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !