
चितवनः भ्रमण वर्ष सन २०२० लाई लक्षित गर्दै सौराहामा आउने पर्यटकलाई रात्री कालिन सफारी सहित चेपाङ खाना खुवाउँदै उनीहरुको संस्कृती देखाउने तयारी गरिएको छ । दिनको समयमा निकुञ्ज सफारी गरेर रमाउने र साँझमा थारु संस्कृती हेर्नका लागि अहिले पर्यटक सौराहा आउने गरेका छन् ।
रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनका अनुसार सौराहाबाट राप्ती नदीको ड्यागको बाटो हुँदै लोथर सम्म रात्री कालिन सफारी गर्ने तयारी गरिएको छ । करिब १८ किलोमीटरको दुरी हुने उहाँले जानकारी दिनुभयो । लोथर क्षेत्रमा चेपाङ् संस्कृतीमा पर्यटकलाई आकर्षित गर्दै चेपाङ् खाना खुवाईने छ । चेपाङ्हरुले वनमा फलेका र उव्जिएका अन्नपात, गिठ्ठा, भ्याकुर लगाएतको खाना तयार गर्ने र सोही खानामा पर्यटक रमाउने अपेक्षा गरिएको छ ।
वनले रातको समयमा वत्तिको उज्यालोमा वन्यजन्तुको अवलोकन गर्दै पर्यटकलाई नयाँ पन दिलाउन लागिएको जानकारी दिनुभयो । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईले करिव ३ घण्टाको रात्री कालिन सफारी संगै चेपाङ् संस्कृती र खानामा रमाएका पर्यटक फर्किएर सौराहामा बास बस्ने बताउनुभयो । यसबाट पर्यटकको बसाई लम्व्याउन सकीने र नयाँ पन दिन सकीने उहाँको भनाई छ ।
रात्री कालिन सफारीका क्रममा पर्यटकहरुले त्यस क्षेत्रका अन्य महत्वका क्षेत्रहरु हेर्न चाहेमा पाउने भएका छन् । केही दिनमानै त्यस क्षेत्रको स्थलगत अध्ययन गरि भ्रमण बर्ष संगै नयाँ प्याकेजका रुपमा अघि सारीने उहाँको भनाई छ । लागत खर्चका आधारमा होटलहरुले पर्यटकहरु संग रकम लिनेछन् ।
यसैगरी सौराहा आसपासका थारु वस्तिमा पर्यटकलाई साईकलमा घुमाईने भएको छ । झुवानी, बच्छौली, थारु संग्राहलय, फसिहारा, भोकाहा, देवौली हुँदै सौराहा सम्म साईकलमा पर्यटकलाई घुमाउने तयारी गरिएको छ ।
भट्टराईका अनुसार त्रिभूवन बिमानस्थल सहित देशका ठूला बिमानस्थल र महत्वपूर्ण ठाउँहरुमा डिजिटल होर्डीङ् बोर्ड राख्ने तयारी गरिएको छ । चितवन तेस्रो पर्यटकीय गन्तव्य हो । चितवन राष्ट्रिय निकुञ्ज र यहाँ भित्र रहेको दुर्लभ वन्यजन्तु पर्यटकहरुका लागि आकर्षणको केन्द्र बन्दै आएका छन् । हरेक वर्ष २ लाख हाराहारी पर्यटक भित्रने यहाँ भ्रमण वर्षमा चार लाख पर्यटक भित्र्याउने लक्षका साथ काम अघि बढाईएको छ ।
जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य सौराहा रहेको छ । यस संगै चितवन राष्ट्रिय निकुञ्जको प्रबेशद्धारको रुपमा रहेका पटिहानी र मेघौलीमा पर्यटन पूर्वाधार बन्नेक्रम बढेको छ । गतबर्ष सरकारले छानेका एक सय पर्यटकीय गन्तव्य मध्येको पटिहानी एक हो भने यसवर्ष प्रदेश सरकारले एक जिल्ला एक पर्यटकीय गन्तव्यको रुपमा मेघौलीलाई लिएको छ । यी दुवै ठाउँ भरतपुर महानगरपालिकामा पर्दछ । भरतपुर महानगरले भ्रमण वर्ष लक्षित गर्दै आफ्ना कार्यक्रम सार्वजनीक गरि सकेको छ ।
नेपाल भ्रमण बर्ष सन २०२० जिल्ला आयोजक समितिको आज यहाँ सम्पन्न बैठकले भ्रमण वर्षमा धेरै पर्यटक भित्र्याउनका लागि विभिन्न गतिबिधिहरु गर्ने निर्णय गरेको छ ।
समितिका संयोजक जिल्ला सुमन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले बैठकमा जिल्लाका सातवटै पालिकाका पर्यटकीय गन्तव्यहरुको स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसारका लागि बिभिन्न गतिविधि अघि बढाउने निर्णय भएको जानकारी दिनुभयो । सौराहामा रात्री कालिन जिप देखि ईच्छाकामनामा स्वागत सम्मका गतिबिधिहरु गरिने भएका छन् । कुन–कुन कार्यक्रम कसरी गर्ने भन्ने टुङ्गो केही दिनमा लगाईने उहाँले बताउनुभयो ।
बैठकमा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, ईच्छाकामना गाउँपालिका अध्यक्ष गिता गुरुङ्, क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराई लगाएतले भ्रमण बर्ष लक्षित गर्दै भएका कामका वारेमा जानकारी गराउनुभएको थियो । सो अबसरमा प्रदेश सभा सदस्य बिजय सुबेदी र मिलनबाबु श्रेष्ठले भ्रमण बर्षमा पर्यटकको बसाई लम्व्याउन र संख्या बढाउन गरिने गतिबिधिहरुमा आबश्यक सहयोगका लागि आँफुहरु सकारात्मक रहेको जानकारी दिनुभएको डल्लाकोटीले बताउनुभयो ।