
चितवनः अंग्रेजी नयाँ वर्षलाई स्वागत गर्न पर्यटकीय नगरी सौराहामा पुष १० गते देखि हात्ती महोत्सब हुने भएको छ । ६ दिन सम्म संञ्चालन हुने यो महोत्सब १६ औं संस्करण हो ।
भ्रमण वर्ष सन २०२० लाई बिशेष रुपमा महोत्सबबाटै स्वागत गरिदैं छ । महोत्सबको आयोजक संस्था क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईका अनुसार महोत्सबमा हात्ती फुटबल, हात्ती पोलो, हात्ती फास्टवाक, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीको बनभोज संगै हात्तीका गतिबिधिसंग सम्बन्धित बिभिन्न खेलहरु हुनेछन् ।
सौराहाको बाघमारा चौरमा हुने महोत्सबमा ५० वटा स्टल रहने छन् । ती स्टलमा पर्यटकका लागि लक्षित बिभिन्न प्रकारका खानासंगै हस्तकलाका सामाग्री बिक्री गरिने छ । महोत्सबको समापनसंगै बिशेष कार्यक्रमको आयोजना गरि भ्रमण बर्षलाई स्वागत गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।
महोत्सबको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल“प्रचण्ड”ले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । हरेक वर्ष अंग्रेजी नयाँ वर्षलाई स्वागत गर्दै महोत्सब गर्ने गरिन्छ । नयाँ वर्षमा बिदेशी पर्यटक आफ्नै देशमा रमाउने हुँदा उनीहरुको संख्या कम हुने गर्दछ । नेपाली पर्यटक धेरै भित्र्याउन महोत्सब गर्ने गरिएको छ ।