
चितवनः जिल्लाका उपनिर्वाचन हुने तीनवटा वडाहरुमा आज विहान ७ वजेबाट मतदान सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भरतपुर महानगरपालिका वडा नम्वर १६ र खैरहनी नगरपालिकाको वडा नम्वर ४ एवं ५ मा मतदान सुरु भएको जानकारी दिनुभयो ।
निर्धारीत समयमानै ती वडाका मतदान केन्द्रहरुमा मतदान कार्य सुरु भएको उहाँले जानकारी दिनुभयो ।
जिल्ला निर्वाचन अधिकारी हरि प्रसाद ढकालका अनुसार जिल्लामा ६ वटा मतदान स्थल र १५ वटा केन्द्र रहेका छन् । भरतपुर महानगरपालिका वडा नम्वर १६ मा ८ हजार ४ सय ८१, खैरहनी नगरपालिका वडा नम्वर ४ मा २ हजार ६ सय ९२ र वडा नम्वर ५ मा २ हजार १ सय ११ मतदाता रहेका छन् ।
जिल्लाका मतदान हुने स्थलहरुमा कडा सुरक्षाको व्यवस्था गरिएको छ । मतदान केन्द्रमा सिसि क्यामेरा समेत जडान गरिएको छ । ती वडाहरुमा प्रबेश गर्ने नाकामा सुरक्षा कर्मी बसेर सुरक्षा जाँच गरिरहेका छन् । जिल्लाका तीनवटा वडामा पाँच राजनैतिक दलका १३ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।
सवारी दुर्घटनामा खैरहनीका वडा अध्यक्षहरुको निधन भएको र भरतपुर १६ का वडा अध्यक्षको क्यान्सर रोगका कारण निधन भएकाले उपनिर्वाचन हुन लागेको हो ।