चितवनः भ्रमण वर्ष सुरु हुनै लाग्दा चितवनको पर्यटकीय नगरी सौराहामा भने विदेशी आएर विवाह गर्ने क्रम वढेको छ । मित्र राष्ट्र भारतवाट यहाँ आएर विवाह भारतबाट बिबाह गर्न सौराहा आउनेको संख्या बढ्दै गएको छ । यो मौषममा दुलाहा दुलही सहित सबै बन्दोवस्तीका सामान बोकेर भारतीयहरु बिबाहका लागि आउने क्रम बढेको हो ।
सौराहाका कुनै एक होटल दुई देखि तीन रातका लागि पुरै बुकिङ गरि बिबाह गर्ने गर्दछन् । साना होटल भए एउटा होटमा दुलाहा र अर्को होटलमा दुलही बसेर बाजा गाजाका साथ जन्ति गएर बिबाह गर्ने गर्दछन् । ठूला होटल बुक गर्दा एउटै होटलमा दुलाहा दुलही राखेर दुलाहालाई बजार परिक्रमा गरि रमाईलो गर्ने गर्दछन् ।
होटल सेभेन स्टार र वेष्ट उडका संञ्चालक माधव दुवाडीका अनुसार नोभेम्वर महिनामा मात्र दुई होटलमा दुई÷दुई वटा बिबाहको वुकिङ रहेको छ । आज सेभेन स्टारमा भारतीय बिबाह भएको भन्दै उहाँले दुई वा तीन दिन होटल वुक गरि बिबाह गर्ने गरेको बताउनुभयो । होटलको बगैंचा, सभाहल, कोठा र पानीको एउटा बिबाह गर्दा रु ५ लाख लिने गरेको दुवाडीको भनाई छ । नअट्नेहरु बाहिर होटलमा बस्ने गर्दछन् ।
एउटा विवाहमा चार सय हाराहारी आउने गर्दछन् । खाना देखि बाजागाजा सम्म सबैको तयारी समुह भारतवाटै आउने गर्दछन् । होटल वाईल्डलाईफ क्याम्पका संञ्चालक शंकर सैजुको होटलमा गत बर्ष एउटा बिबाह भएकोमा यस वर्ष पनि अर्को बिबाह भएको छ । यस बर्ष पट्नाबाट आएका बेहुला, बेहुलीको बिबाह भएको उहाँले जानकारी दिनुभयो ।
अन्य होटलहरुमा पनि बिबाहका लागि बुकिङ भईरहेको छ । क्षेत्रीय होटल संघका पूर्ब अध्यक्ष समेत रहनु भएका सैजुले यसबाट अन्य पर्यटकहरुलाई असर नपरोस भन्नका लागि सावधानी अपनाईएको बताउनुभयो । वन र वन्यजन्तुमा रमाउन पर्यटक आउने भएकाले बिबाहका कारण असर नपरोस् भन्नका लागि आँफुहरु सचेत रहेको सैजुको भनाई छ ।
क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईका अनुसार गत वर्ष भन्दा यो वर्ष बिबाह गर्न आउनेको संख्य बढेको छ । गतवर्ष ७÷८ वटा जति बिबाह भएको भए पनि यो वर्ष त्यती बिबाह भईसकेका छन् । भारतीय सिमा क्षेत्रबाट बढि बिबाह गर्न आउने गरेको पाईएको छ । सो क्षेत्रमा मदिरा सेबन गर्न नपाउने भए पछि यहाँ आउने क्रम बढेको हो । मांस मदिरा सेबन गरेर रमाईलोका साथ बिदेशमा गएर कम खर्चमा बिबाह गर्न चाहनेहरुका लागि सौराहा उपयुक्त थलो बनेको उहाँले बताउनुभयो ।
यस बर्ष धमाधम होटलहरुमा बिबाह र बुकिङ हुने क्रम जारी रहेको उहाँले जानकारी दिनुभयो । यसरी बिबाह गर्न आउनेहरु सौराहामा हुने पर्यटकीय गतिबिधिहरुमा सहभागी हुने गरेका छन् । यस क्षेत्रका पर्यटन व्यवसायीले गएका दुई वर्ष भारतीय सिमा क्षेत्रका शहरहरुमा पुगेर यहाँको पर्यटकीय महत्वका बारेमा प्रचार प्रसार गरेका थिए ।
पर्यटक घट्यो
बिबाह गर्न भारतीय आउने क्रम बढेपनि नियमीत रुपमा आउने पर्यटकको संख्या घटे पछि व्यवसायी निरास बनेका छन् । क्षेत्रीय होटल संघका अध्यक्ष भट्टराईका अनुसार गतबर्ष यो समयमा सौराहाका होटलका कोठा ७० प्रतिशत हाराहारी बुकिङ हुने गरेको भए पनि यस बर्ष ४० प्रतिशत हाराहारी मात्र भरिएका छन् । दशैं र तिहार पछि नोभेम्वर महिना पर्यटकहरु धेरै आउने गर्दथे ।
भट्टराईका अनुसार यसरी आएका पर्यटकहरु मध्ये आधाभन्दा बढि चिनिया रहेका छन् । के कारणले पर्यटक घटेको हो बुझ्न नसकेको उहाँको भनाई छ । यध्यपि वन र वन्यजन्तु संग सम्वन्धित संगै अन्य पर्यटकीय गतिविधि बढाउनु पर्ने देखिएको भट्टराईले जानकारी दिनुभयो । डिसेम्वर महिना संगै विदेशीहरु आफ्नै देशमा क्रिशमस र नयाँ वर्षका लागि रमाउने भएकाले यहाँ कम आउने गर्दछन् ।
सौराहामा १ सय १० होटल रहेका छन् । जसको क्षमता ५ हजार ५ सय भन्दा बढिकोे छ । चितवन राष्ट्रिय निकुञ्जमा पाईने दुर्लभ वन्यजन्तुको अवलोकन, डुङ्गा सयर, थारु संस्कृतिमा रमाउनका लागि यहाँ पर्यटक आउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस !