चितवनः नवौ अन्तर्राष्ट्रिय रेन्जर सम्मेलनले साउथ अफ्रिकाका क्रिश गिल्सको नेतृत्वमा १३ सदस्यिय नयाँ नयाँ कार्यसमिति गठन गर्दै सम्पन्न भएको छ । आउँदो सम्मेलनका लागि पोर्चुगल र पेरुले प्रस्ताव गरेका छन् । नयाँ कार्यसमितिले ती दुई देशलाई सन २०२२ र २०२५ का लागि छनोट गरि निर्णय गर्ने छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सहायक संरक्षण अधिकृत बिष्णु थपलियाका अनुसार सम्मेलनले चोरी शिकार तथा अवैध व्यापार नियन्त्रणमा विश्वभर सहकार्य गरेर पृथ्वीको उपहार वन्यजन्तु भावि पुस्ताका लागि संरक्षण गर्न जरुरी भएको भन्दै चितवन घोषणा पत्र २०१९ जारी गरेको छ । थपलियाका अनुसार घोषणा पत्रमा रेन्जरका हकहित, रेन्जर र समुदाय विचको सम्वन्ध, संरक्षणमा आदिवासी रैथाने समुदायको भूमिका, रेन्जरको क्षमता विकास, संरक्षणमा प्रविधि, महिला रेन्जरको भूमिका र भावि दिनमा रेन्जरहरुले गर्नुपर्ने कार्यहरु समावेश गरिएको घोषणापत्र जारी भएको हो ।
सो अवसरमा अन्तर्राष्ट्रिय रेन्जर महासंघ (आईआरएफ)का नवनियुक्त अध्यक्ष गिल्सले सम्मेलनमा भएका छलफल र निचोडलाई आत्मसाथ गर्दै महासंघलाई अघि वढाउने प्रतिवद्यता व्यक्त गर्नुभयो ।
नवौं रेन्जर सम्मेलनको समापन सत्रमा वोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश कुमार भट्टराईले संरक्षण क्षेत्रमा लागेका ७१ देशका प्रतिनिधिहरुलाई नेपालमा मनाउन लागिएको भ्रमण वर्षको निम्तो आफ्नो देशमा पुर्याईदिन आग्रह गर्नुभयो । आफ्ना परिवार, स्टमित्र र साथीभाईलाई भ्रमण वर्षको निम्तो पुर्याईदिन उहाँले आग्रह गर्नुभएको हो ।
नेपाल जैविक, प्राकृतिक र सांस्कृतिक दृष्टिले असाध्यै धनि देश भएको सम्मेलनका क्रममा सहभागीहरुले जानकारी पाएकोमा आँफु विश्वस्त भएको भन्दै उहाँले यहाँको पर्यटकीय महत्वलाई विश्वभर पुर्याउन भ्रमण वर्ष फलदायी हुने वताउनुभयो । नेपालको भूवनोट तराई देखि हिमाल सम्म फैलिएको उहाँको भनाई थियो । संरक्षण क्षेत्रमा काम गर्नेहरुकै कारण आज विश्वमा वन र वन्यजन्तु संरक्षण हुन सकेको भन्दै उहाँले सवै सहभागी संरक्षणकर्मीहरु प्रति आभार प्रकट गर्नुभयो ।
विश्वका विभिन्न देशबाट यहाँ भेला भएर गरिएको सम्मेलन संरक्षण क्षेत्रमा फलदायी हुने कुरामा आँफु विश्वस्त भएको भट्टराईको भनाई थियो । समुदायमा आधारीत भएर गरिने संरक्षण कार्यमा नेपाल उदाहरणीय रहेको उहाँले वताउनुभयो ।
कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले सम्मेलनका लागि नेपाल रोजेकोमा सवैलाई धन्यवाद दिदै सफलता पूर्वक सम्मेलन सम्पन्न भएकोमा खुशी व्यक्त गर्नुभयो ।
क्षेत्रीय होटल संघ चितवन सौराहा च्याप्टरका अध्यक्ष दिपक भट्टराईले भ्रमण वर्षको निम्तो आ–आफ्नो देशमा पुर्याईदिन आग्रह गर्नुभयो ।
चितवनको पर्यटकीय नगरी सौराहामा कात्तिक २६ गते पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सम्मेलनको उद्घाटन गर्नुभएको थियो ।
अन्तर्राष्ट्रिय रेन्जर महासंघ (आईआरएफ) र वन तथा वातारण मन्त्रालयको संयृुक्त आयोजनामा एसीयामानै पहिलो पटक नेपालमा सम्मेलन भएको हो । सन १९९५ बाट सुरु भएको सम्मेलन हरेक तीन ÷तीन बर्षमा हुँदै आएको छ । यस अघिको आठौं सम्मेलन सन २०१६ मा अमेरीकामा भएको थियो । सम्मेलनमा नेपाल सहित ७२ देशका ५ सय २६ जना प्रतिनिधि सहभागी भएका थिए । जस मध्ये विदेशीको संख्या ४ सय ८४ रहेको थियो ।
नेपालले चोरी शिकार नियन्त्रणमा गरेको उल्लेख्य प्रगतिका साथै पाँच पटक गैंडाको शून्य चोरीशिकार वर्षहरु सहित संरक्षण प्रयासमा देखाएको उत्कृष्ठताका कारण नेपाललाई चयन गरिएको थियो । विश्वव्यापि “टिएक्स २” लक्ष्यको एक हिस्साका रुपमा नेपालले आफ्नो वाघ संख्या पनि झण्डै दोव्वर गरेको छ ।

प्रतिक्रिया दिनुहोस !