चितवनः प्रदेश नम्वर तीनका मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सरकार जिल्ला समन्वय समितिलाई जिम्मेवारी दिने तयारीमा रहेको बताउनुभयो । जिल्ला समन्वय समिति चितवनको तेस्रो जिल्ला सभालाई आज संम्वोधन गर्दै उहाँले भन्नुभयो“निस्कृय वस्नुपर्ने वाध्यतालाई अन्त्य गर्दै प्रदेश सरकारले जिल्ला समन्वय समितिलाई जिम्मेवारी दिने तयारी गरेको छ ।”
जिल्ला समन्वय समितिको काम समन्वय गर्ने भएकाले हरेक स्थानीय तह संग समन्वय गरेर विकास निर्माणमा अग्रसर लिन आग्रह गर्नुभयो । विकास निर्माणलाई अनुगमन गर्दै सम्वृद्धीको यात्रामा सहयोग पुर्याउनु पर्ने उहाँको भनाई थियो । आँफुलाई संविधानले दिएको अधिकारको प्रयोग गरि काम गर्न समेत उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा उहाँले प्रदेश सरकार कृषि र पर्यटन केन्द्रित विकासका कार्यक्रमहरु ल्याउने तयारीमा रहेको वताउनु भयो । उहाँले कृषि र पर्यटनले मात्र सम्वृद्धिको यात्रामा सहयोग पुर्याउने वताउँदै यस तर्फ केन्द्रित हुन आग्रह गर्नुभयो ।
चितवन सहित प्रदेशका सवै जिल्लामा केन्द्र सरकारले देखिने गरि काम गर्न लागेको भन्दै उहाँले मुलुकलाई सम्वृद्धी वनाउने तर्फ सवै केन्द्रीत भएर विकासका योजना निर्माण गर्न आग्रह गर्नुभयो ।
समग्र चितवनबासीको एउटै चिन्तन्, सफा सुन्दर र समृद्ध चितवन भन्ने नाराका साथ आयोजना गरिएको तेस्रो जिल्ला सभाका क्रममा जिल्ला समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले चालु आर्थिक वर्षका लागि आन्तरिक तर्फ रु ३९ करोड ६५ लाख५६ हजार ६ सय ६८ र वाह्य स्रोत तर्फ रु २ करोड ६ लाख ६९ हजार ९ सय ७३ को वजेट पेश गर्नुभएको थियो ।
सो अवसरमा डल्लाकोटीले आगामी वर्षमा जिल्लामा गरिने पाँच वटा बिशेष प्रस्ताव सेमेत पेश गर्नुभएको थियो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोख्रेल, प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, राप्ती नगरपालिका प्रमुख प्रभा वराल, नेकपाका नेता तेजेन्द्र खड्का, नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, धुर्मुश सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल, जिल्ला समन्वय समिति चितवनका उपप्रमुख मुनाकुमारी श्रेष्ठ लगाएतले वोल्नुभएको थियो ।