चितवनः सौराहामा जारी नवौं विश्व रेन्जर सम्मेलनमा सातवटा मूल बिषयमा समुच्च र त्यस भित्रका साना विषयवस्तुहरुमा समुहगत छलफल जारी रहेको छ । कात्तिक २६ गतेवाट सुरु भएको सम्मेलन नयाँ नेतृत्व चयन गर्दै चितवन घोषणा पत्र जारी गरेर शनिवार सकिदैंछ ।
अन्तर्राष्ट्रिय रेन्जर महासंघ (आईआरएफ) र वन तथा वातारण मन्त्रालयको संयृुक्त आयोजनामा एसीयामानै पहिलो पटक नेपालमा सम्मेलन भएको हो । सम्मेलनमा नाम दर्ता गराउँदा प्रमुख सात विषय मध्ये कुनै पनि विषयमा केन्द्रीत हुने गरी प्रस्तुतीकरण गर्नका लागि नाम दर्ता गरिएको थियो । सोही अनुसार सहभागीहरुले आफ्नो प्रस्तुती संगै छलफलमा सहभागी भईरहेका छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सहायक संरक्षण अधिकृत बिष्णु थपलियाका अनुसार संरक्षण क्षेत्रमा काम गर्नेहरुको हक हित सुरक्षाका विषयमा प्रस्तुतीकरण र छलफल भईरहेको छ । ठूलो संख्यामा संरक्षणकै क्रममा ज्यान गुमाएको तथ्याङ्क छ । यस विषयमा क्षेत्रीय रुपमा प्रस्तुतीकरण भईरहेका छन् ।
रेन्जर र समुदायविचको सम्वन्ध र यसले पारेको सकारात्मक प्रभावहरुका वारेमा पनि छलफल जारी छ । अरुबढी लाभ लिन गर्नुपर्ने कामहरुका वारेमा सहभागीहरुले आ आफ्नो धारणा राख्दै आएका छन् । यस्तै संरक्षणमा आदिबासी रैथाने समुदाय र यही समुदायका रेन्जरहरुको भूमिका अर्को महत्वपूर्ण विषय रहेको छ । थपलियाका अनुसार यस विषयमा गरिएका विस्तृत अध्ययनहरुलाई प्रस्तुतीकरणमा समावेश गरिएको छ ।
रेन्जरहरु संगै, स्थानीय समुदाय, सरकार, गैर सरकारी संस्था र अन्य सरोकारवालाहरुको क्षमता विकासका लागि गर्नुपर्ने बिषयमा प्रस्तुतीकरण र छलफल भईरहेको छ । संरक्षणमा आधुनिक र नयाँ प्रविधि, संरक्षणमा महिलाहरुको भूमिका र आगामी दिनमा संरक्षण कर्मी एबं रेन्जरहरुले गर्नुपर्ने कामका विषयमा छलफल भईरहेको छ । संरक्षणमा भएका सफलताहरुलाई समावेश गरेर तयार पारिएका सफल कथाहरु पनि सहभागीहरुले प्रस्तुती संगै छलफलमा ल्याएका छन् ।
छलफलका क्रममा संकलन गरिएका महत्वपूर्ण बिषयहरुलाई सबै माझ पुर्याउन जर्नलहरु प्रकाशन गरिने छ । थपलियाका अनुसार शनिवार नयाँ नेतृत्व चयन, आगामी सम्मेलनको टुङ्गो र चितवन घोषणा पत्र जारी गरेर सम्पन्न हुने कार्यक्रम रहेको छ ।
सहभागीहरुलाई जंगल सफारी, डुङ्गा सयर, थारु संस्कृती लगाएतका गतिबिधिमा सहभागी गराईएको छ ।
सन १९९५ बाट सुरु भएको सम्मेलन हरेक तीन ÷तीन बर्षमा हुँदै आएको छ । यस अघिको आठौं सम्मेलन सन २०१६ मा अमेरीकामा भएको थियो । सम्मेलनमा नेपाल सहित ७२ देशका ५ सय २६ जना प्रतिनिधि सहभागी भएका छन् । जस मध्ये विदेशीको संख्या ४ सय ८४ रहेको छ । सम्मेलन व्यवस्थापन गर्न नेपाली र विदेशी गरि ४० जना छुट्टै लागिपरेका छन् ।

सम्मेलनको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले उद्घाटन गर्नुभएको हो । पर्यटन वर्ष २०२० को संघारमा सम्मेलन भएकाले कार्यक्रमको समापनमा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईलाई आमन्त्रण गरिएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस !