चितवनः सन् २०२० लाई नेपाल सरकारले भ्रमण वर्षका रुपमा मनाउने तयारी गरिरहेको छ । ठूलो संख्यामा विदेशी पर्यटक नेपाल भित्र्याउन विश्वभर प्रचार अभियानमा सरकार जुटेको छ ।
भ्रमण वर्षको संघारमा पर्यटकीय क्षेत्र सौराहामा ७१ देशका संरक्षणकर्मीहरु जुटेका छन् । यसैलाई अवसरका रुपमा लिएर सरकारी र गैंरसरकारी क्षेत्रहरुबाट यहाँको पर्यटकीय महत्वका बारेमा उनीहरु मार्फत सन्देश पु¥याउने काम भईरहेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सहायक संरक्षण अधिकृत बिष्णु थपलिया भ्रमण वर्षको पूर्व तयारी भईरहेका वेला भएको यो जमघट निकै महत्वपूर्ण रहेको बताउनुहुन्छ ।
आज विहान सम्म ७१ देशवाट ४ सय ९१ जना विदेशीहरु अन्तर्राष्ट्रिय रेन्जर सम्मेलनमा सहभागी भएको उहाँले जानकारी दिनुभयो । सवैभन्दा बढी अष्ट्रेलियाबाट १ सय १२ जना सहभागी छन् । एउटा देशबाट एक जना देखि १ सय १२ जना सम्म सहभागी भएको थपलियाको भनाई छ ।
सवै सहभागी प्राकृतिक सम्पदामा काम गर्ने संरक्षण कर्मीहरु रहेको र नेपालको पर्यटन वन र वन्यजन्तुमा बढी केन्द्रित हुने भएकाले उनीहरु मार्फत राम्रो सन्देश जाने छ । उनीहरुको सामाजीक संञ्जाल मार्फत एउटै देशका हजारौ जनतालाई यहाँको पर्यटकीय महत्वका बारेमा सन्देश प्रवाह हुने देखिन्छ ।
भ्रमण वर्ष सन २०२० तयारी समिति चितवनका संयोजक जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटी विश्वभरका संरक्षण कर्मीलाई यहाँको पर्यटकीय महत्वका वारेमा जानकारी दिदै ती देशहरुमा हाम्रो निम्ता पुग्ने वताउनुहुन्छ । नेपालको पहिलो निकुञ्ज चितवन भएको भन्दै उहाँले वास्तविक यहाँको रमाईलोपन ७१ देशका प्रतिनिधिले एकै साथ पाएको उहाँको भनाई छ । यस संगै आउँदो वर्ष यहाँ आउने पर्यटकको संख्या वढाउन सकीने डल्लाकोटीले बताउनुभयो ।
सुनसान संगै एकाएक विदेशी पर्यटकले भरिए पछि सौराहाका पर्यटन व्यवसायीमा उत्साहा बढेको छ । क्षेत्रीय होटल संघ चितवन सौराहा च्याप्टरका अध्यक्ष दिपक भट्टराई सहभागीहरुलाई जति सक्दो धेरै पर्यटकीय महत्वका वस्तुहरु देखाएर ती देशहरुमा सन्देश पठाउन लागिएको बताउनुहुन्छ । सहभागीहरुलाई जंगल सफारी, डुङ्गा सयर, सांस्कृतिक कार्यक्रमको प्रस्तुतीकरण गरिदैं छ भने सम्भव भए जतिलाई रातको समयमा मध्यवर्ती वन भित्र निर्माण गरिएका टावरमा राखिदै छ । उनीहरु मार्फत ती सन्देश आ–आफ्नो देशमा पुग्ने छ ।
रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन संसारभर एकै पटक हाम्रो पर्यटकीय महत्वका बारेमा सन्देश पुग्नलागेको बताउनुहुन्छ । आँफुले कार्यक्रमको उद्घाटन सत्रमा सवैलाई स्वागत गर्दै आ–आफ्नो देश बासिलाई भ्रमण वर्षको सन्देश पु¥याउन आग्रह गरेको जानकारी दिनुभयो । उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले स्वदेश फर्किएर आफन्त र साथीभाईलाई भ्रमण वर्षको निम्तो पु¥याईदिन आग्रह समेत गर्नुभएको थियो ।
भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ विश्व सुवेदीले जिल्लाको पर्यापर्यटनका विषयमा सहभागीहरुले आफ्नो देशमा सामाजीक संञ्जाल मार्फत अरुलाई जानकारी दिने हुनाले विना खर्च विश्वभर राम्रो प्रचार हुन लागेको बताउनुभयो । यस संगै नेपालमा भ्रमण वर्षमा आउने पर्यटकको संख्यामा वृद्धि हुने सुवेदीको अपेक्षा रहेको छ ।
वन र वन्यजन्तु क्षेत्रका विज्ञहरुको सहभागीता भएको हुनाले उनीहरु मार्फत यहाँको महत्वका बारेमा राम्रो गरि सन्देश जाने देखिएको छ । यहाँ आएका संरक्षण कर्मीहरुले दुर्लभ एक सिंगे गैंडा, बाघ, घडियाल गोही जस्ता वन्यजन्तु र चराहरु अबलोकन गर्ने अवसर पाएका छन् । जाडो छल्न विश्वका विभिन्न देशबाट यहाँ आएका चराहरु उनीहरुका लागि अध्ययन र अवलोकन गर्न निकै महत्वपूर्ण साबित हुने छ ।
निकुञ्ज संगै सौराहामा रहेको थारु संस्कृती विश्वका जोसुकैका लागि नौलो र महत्वपूर्ण हुने गर्दछ । मंगलावरबाट सुरु भएको रेन्जर सम्मेलन पाँच दिन सम्म चल्नेछ । नेपाल सरकार र अन्तर्राष्ट्रिय रेन्जर फेडरेशनले कार्यक्रमको आयोजना गरेको हो । एसीयामा पहिलोपटक यो कार्यक्रमको आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !