
चितवनः भरतपुर महानगरपालिका वडा नम्वर १२ निवासी ८७ वर्षिय नेत्रलाल पौडेलको दुवै आँखा दान गरिएको छ । पौडेलको आज निधन पछि परिवारले नेपाल नेत्रज्योति संघ चितवनद्धारा संञ्चालित भरतपुर आँखा अस्पतालका प्राविधिकहरुलाई डाकेर आँखा दान गरेको हो ।
पछिल्लो समय आँखा प्रत्यारोपणमा सचेतना जगाउँदै आएको लायन्स क्लव अफ चितवन राईजका सदस्य एवं पौडेलका ज्वाई ई. कमल घिमिरेको संयोजनमा उहाँको आँखा दान गरिएको हो ।
भरतपुर आँखा अस्पतालका सहायक व्यवस्थापक छायाँदेवी श्रेष्ठका अनुसार पौडेलको आँखाको नानिको झिल्लि झिक्नुका साथै त्यहाँ रहेका परिवार, स्टमित्र र छर छिमेकीहरुलाई आँखा दानका वारेमा जानकारी गराईएको थियो । अस्पतालले हाल सम्म ९ जनाको आँखाको झिल्लि निकालेर तिलगंगा अस्पतालमा रहेको नेपाल आँखा वैंकमा पठाईसकेको छ ।
अस्पतालमा विभिन्न व्यक्तिहरुले २ सय ८७ जनाको मरणोपरान्त आँखादान फर्म भरेका छन् । तिलगंगावाट आँखाको नानि झिकाएर अस्पतालले ७५ जनामा प्रत्यारोपण गरिसकेको छ । अस्पतालमा भिमराज उषामायाँ पाठक आँखा वैंक समेत स्थापना भईसकेको भए पनि आँखा भण्डारण गरेर प्रसोधनको काम भने सुरु भएको छैन ।
आँखा दानका लागि मानिसको मृत्यु भएको ६ देखि ८ घण्टा सम्ममा आँखाको नानिको वाहिरी झिल्लि निकाली सक्नु पर्ने हुन्छ । संघका सभापति कृष्णराज धरेलले देशमा ठूलो संख्यामा आँखा नदेख्नेहरु रहेको भन्दै मृत्यु पछि जलेर खेरा जाने आँखा दान गर्न सकेमा उनीहरुलाई ज्योती दिन सकिने भएकाले यस पूण्यकार्यमा सहभागि भईदिन सवैमा अनुरोध गर्नु भएको छ ।