तेस्रो राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो शुक्रवारबाट

चितवनः पूर्वी चितवनको रत्ननगरमा तेस्रो राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगिता हुने भएको छ । यहि कार्तिक १ र २ गते रत्ननगर तेक्वान्दो, सरीत सौराहा, न्यू स्टार, सौराहा, पिठूवा र ईच्छाकामना डोजाङ्गको संयुक्त आयोजनामा प्रतियोगिता गर्न लागिएको हो ।
आयोजकले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको वारेमा जानकारी दिएको हो । सो प्रतियोगितामा पुरुषको २४ र महिलाको २२ गरि ४६ तौल समुहमा प्रतिस्पर्धा हुने प्रतियोगिता मुल संयोजक पुष्पराज जोशीले जानकारी दिनुभयो । पुम्से तर्फ पुरुषको ४ र महिलाको ४ गरि ८ विधामा प्रतिस्पर्धा हुने छ ।
देभरवाट ४ सय जना खेलाडीको सहभागिता रहने सो प्रतियोगितामा ५४ स्वर्ण, ५४ रजत र १०८ काश्य गरि २ सय १६ पदकका लागि प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा सिनियर पुरुष तर्फ ६ र सिनियर महिला तर्फ ४ तौल समुहमा प्रथम हुने खेलाडीहरु विच पुनः छनोट गरी सर्वोत्कृष्ट हुने तीन जना पुरुष र २ जना महिला खेलाडीलाई जनही रु १÷१ लाख पुरस्कारको व्यवस्था गरिएको जोशीले जानकारी दिनुभयो ।
यस्तै अन्य उत्कृष्ट खेलाडी, रेफ्रि, प्रशिक्षक, उत्कृष्ट समुह र उत्कृष्ट तेक्वान्दो प्रदर्शनीलाई नगद रु २५÷२५ हजार पुरस्कार प्रदान गरिने छ । विजेता खेलाडीहरु अमेरीकाको ईस्टन मिसिगन विश्वद्यिालयमा सन २०२० को मे १ र २ मा हुने १३ औं अन्तराष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगिताका लागि छनोट हुनेछन् । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार शिलवालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।