
चितवनः उपराष्ट्रपति नन्दबहादुर पुन“पासाङ्ग”ले नेपालमानै सवै रोगको उपचार सम्भव रहेको वताउनु भएको छ । बी. पी. कोईराला मेमोरियल क्यान्सर अस्पतालको २० औं वार्षिकोत्सव तथा १५ औं राष्ट्रिय क्यान्सर सतर्कता दिवस २०७६ को आज यहाँ उद्घाटन गर्नुहुँदै उहाँले नेपालमा उपचार हुँदैन भनेर विदेश जानु पर्ने अवस्था नरहेको वताउनुभयो ।
क्यान्सर लगायत सबै प्रकारका रोगको उपचार नेपालमै सम्भव भएको भन्दै उहाँले भन्नुभयो “हामीले अन्तिमसम्म आफ्नो देशमै उपचारको प्रयास गर्नुपर्दछ । त्यसका लागि स्रोत साधन, प्रविधि र आवश्यक दक्ष जनशक्तिको विकासमा ध्यान दिनुपर्दछ ।” आज क्यान्सरका हजारौँ विरामीहरु भारतका विभिन्न अस्पतालमा पुगिरहेको वताउँदै उहाँले यसबाट नेपाली रुपैयाँ बाहिरिरहेको छ भन्नुभयो ।
कार्यक्रममा वोल्दै उहाँले स्वास्थ्य र शिक्षालाई व्यापारीकरण हुनबाट रोक्नुपर्ने वताउनु भएको छ । उहाँले सेवामुलक स्वास्थ्य र शिक्षा क्षेत्रमा व्यापारीकरण हुनु दुःखद भएको वताउनुभयो ।
नागरिकलाई स्वस्थ बनाउन राज्यले जनस्वास्थ्यको क्षेत्रमा आवश्यक लगानी अभिवृद्धि गर्दै जानुपर्ने वताउँदै उहाँले भन्नुभयो “गुणस्तरीय स्वास्थ्य सेवामा सबैको सहज, सुलभ र समान पहँुच सुनिश्चित गर्नुपर्दछ ।” यसका लागि नेपालको परम्परागत चिकित्सा पद्धतिको रूपमा रहेको आयुर्वेदिक, प्राकृतिक चिकित्सा र होमियोपेथिक लगायत स्वास्थ्य पद्धतिको संरक्षण र प्रवर्धन गर्नुका साथै स्वास्थ्य क्षेत्रलाई सेवामूलक बनाउनु पर्ने उहाँले वताउनुभयो ।
सुविधा सम्पन्न सरकारी अस्पताल नागरिकलाई प्रभावकारी सेवा दिनबाट चुकिरहेको भन्दै उहाँले थप्नुभयो “सुविधा सम्पन्न नीजि अस्पताल महंगा छन्, आधारभूत नागरिकले त्यहाँ पहुँच राख्न सकिरहेका छैनन् भन्ने गुनासाहरु छन् ।” संविधानले प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हकको व्यवस्था गरे पनि हाम्रा नागरिकले समान पहुँच पाउन नसकीरहेको उपराष्ट्रपति पुनको भनाई थियो ।
सो अवसरमा उहाँले आफ्ना दुवै मृगौला काम नलाग्ने अवस्थामा पुगे पछि उपचारका लागि विदेश लान तयारी गरिएको भए पनि मेरो उपचार देशमानै हुन्छ भनेर यहि उपचार सम्भव भएको वताउनु भयो । विरामी निको हुनका लागि मनोवल उच्च हुनुपर्ने उहाँको भनाई थियो । उपराष्ट्रपति पुनले भन्नुभयो “ छिटो निको हुन र स्वस्थ रहन विरामीमा मनोबल उच्च चाहिन्छ ।”
हाम्रो संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने र प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हकको व्यवस्था गरेको उहाँको भनाई थियो । उहाँले अहिले पनि उपचारको अभावमा नागरिकको मृत्यु वरण भएको वताउँदै भन्नुभयो “आजका दिनसम्म पनि हाम्रा कतिपय नागरिक औषधि उपचार नपाएर अकाल मृत्युवरण गरिरहेका छन् । २१ औं शताब्दीको आजको समाजमा उपचारको अभावमा नागरिकले मृत्युवरण गर्नु पाच्य विषय होइन ।”
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले देशभरका सरकारी अस्पतालमा शैया वढाउन र गुणस्तरीय उपचार दिन सरकार लागि परेको वताउनु भयो । यहाँको क्यान्सर अस्पताल र भरतपुर अस्पताललाई शैक्षिक प्रतिष्ठानको रुपमा विकास गर्ने योजना रहेको वताउनुभयो । सवै विरामी यहि आउने भन्दा प्रदेश प्रदेशमा सामान्य समस्या समाधान हुने व्यवस्था मिलाईने उहाँले वताउनु भयो ।
सो अवसरमा अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यले अस्पतालको प्रगति प्रतिवेदन र भावि कार्यक्रमका वारेमा जानकारी गराउनु भएको थियो । अस्पताल संञ्चालक समितिका सदस्य प्रा.डा. तारा मानन्धरको सभापतित्वमा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य कृष्ण भक्त पोख्रेल, नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, समाजवादी पार्टी चितवनका अध्यक्ष प्रेम भूजेल, अस्पतालका पूर्व अध्यक्ष डा. प्रकाशराज न्यौपाने, चीनको हवे प्रोभिन्सका कुङ्ग संङ्ग विश्वविद्यालयका निर्देशक प्रा. डा. लिउ जि चुन, अस्पतालको चिनिया मेडीकल टिमका टोलि नेता लिउलिउ, अस्पतालका उपनिर्देशक डा. निर्मल लामिछाने लगाएतले वोल्नु भएको थियो ।
अस्पताल चीन सरकारकाले २० वर्ष अघि निर्माण गरिदिएको हो । यस संगै अस्पतालमा चीन सरकारले नियमीत रुपमा चिकित्सकको समुह पठाउँदै आएको छ भने विभिन्न समयमा उपकरणहरु समेत प्रदान गर्दै आएको छ ।