चितवनः असोज २ गतेबाट प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेटेरान कप फूटबल प्रतियोगिता हुने भएको छ । भरतपुरको गेष्टहाउस चौरमा गर्न लागिएको प्रतियोगितामा १६ टिम सहभागी हुनेछन् ।
आयोजकले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रतियोगितामा पहिलो हुनेले कपसहित रु १ लाख १ हजार १ सय ११ र दोस्रो हुनेले कपसहित रु ५० हजार ५ सय ५५ नगद पुरस्कार प्राप्त गर्ने छन् ।
त्यसैगरी म्यान अफ दी म्याचलाई नगद र ट्रफी दिइने छ । अन्त्यमा म्यान अफ दी सिरिजलाई रु १० हजार, बेस्ट किपर, बेस्ट डिफेन्स, बेस्ट मिडफिल्डर र हाइ स्कोररलाई जनही रु ५÷५ हजार पुरस्कार प्राप्त गर्ने छन् ।
प्रतियोगितामा चितवन रातो र चितवन नीलो गरी जिल्लाका दुई टिम सहभागि हुँदै छन् । भारतबाट दुईवटा टिम आउँदै छन् । अरु सबै नेपालमा नाम चलेका टिमहरु आउँदै छन् । प्रतियोगिता स्तरीय बनाउन त्यही अनुसार तयारी गरिरहेको संयोजक बरुण वस्नेतले बताउनुभयो ।
सहभागी क्लबहरुलाई २ समूहमा विभाजन गरिएका छन् । दुवै समूहमा ८–८ टोली छन् । समूह ए मा आयोजक चितवन भेटेरान (नीलो) सहित मकवानपुर भेटेरान हेटौंडा, अभिषेक चर्च नवलपुर, रोयल भेटेरान दार्जिलिङ(भारत), बगर भाइ खलक पोखरा, टी बरगर ललितपुर, नाईट किङ काठमाडौं र धरान भेटेरान क्लब छन् ।
यस्तै समूह बी मा चितवन भेटेरान (रातो)सहित सानो गौचरन काठमाडौं, रुपन्देही भेटेरान ११ बुटवल, बीबीसी भेटेरान बनेपा, झापा भेटेरान, युथ एकेडेमी वीरगञ्ज, देहरादुन एफ.सी. भारत र कैलाली भेटेरान रहेको आयोजक चितवन भेटेरान फूटबल क्लबका अध्यक्ष रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगिताको पहिलो चरणको खेलहरु दुई दिन हुनेछन् । दुबै दिन ४–४ वटा खेल हुने तालिका छ । सहभागी १६ मध्ये ८ टोली क्वाटरफाइनल प्रवेश गर्नेछ । क्वाटर फाइनलका खेलहरु ४ गते हुनेछन् भने सेमीफाइनलको खेलहरु ५ गते र फाइनल खेल ६ गते हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

प्रतियोगिताको उद्घाटन खेलमा २ गते आयोजक चितवन भेटेरान (नीलो) र मकवानपुर भेटेरान हेटौंडा भिड्नेछन् । उक्त खेल बिहान ७ः३० बजे हुनेछ ।
पत्रकार सम्मेलनमा मुख्य प्रायोजक जस्मिन पेन्ट्सका महाप्रबन्धक लक्ष्मण अर्यालले आयोजकलाई चितवनको टिमको जर्सी तथा खेल सामग्री हस्तान्तरण गर्नुभएको थियो । त्यस्तै बी. एण्ड बी. सब मनी ट्रान्सफरका तर्फबाट विश्वबन्धु अधिकारीले दोस्रो पुरस्कार प्रायोजन बापतको चेक हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !