चितवनः सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा निर्माण भईरहेको रिभर क्रुजसिप (मिनि पानीजहाज)को परीक्षण यात्रा (टेष्ट ड्राईभ) दशैँ अघि गरिने भएको छ । क्रुजको बाह्य निर्माण कार्य सम्पन्न भएको छ । रङ्गरोगन र सजावटको काम सुरु भएको छ ।
क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालीका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार सोमवारसम्ममा क्रुजको मुख्य ईञ्जिन नेपाल भित्रने छ । ईञ्जिन जडानलाई धेरै समय नलाग्ने भएकाले सजावट र रङ्गरोगनको काम १५ दिनभित्र सम्पन्न गरी नदीमा परीक्षण गरिने कँडेलले जानकारी दिनु भयो । नियमित सञ्चालन भने दशैंपछि गर्ने तयारी गरिएको छ ।
कँडेलका अनुसार क्रुजको स्वरुप परिवर्तन गरिएकाले केहि बढी समय लागेको हो । यस अघि भनिएभन्दा स्वरुपमा परिवर्तन गरिएको छ । भूईतला मात्र वातावरण अनुकुलित बनाइने भनिएकोमा पहिलो तल्ला पनि वातावरण अनुकुलित बनाइने भएको छ । पहिलो तल्लाको अगाडिको भाग र दोस्रो तल्लामा समेत पर्यटकहरुले उभिएर अवलोकन गर्न सक्ने कँडेलले जानकारी दिनुभयो । क्रुजमा २ सय जना सिटमा अट्ने छन् भने ३० जना उभिएर यात्रा गर्न सक्ने गरी स्वरुप परिमार्जन गरिएको छ ।
बाह्य सौन्दर्यता पनि पहिले भन्दा अरु राम्रो भएको उहाँले बताउनु भयो । भरतपुर महानगरपालिका वडा नम्वर १६ स्थित ज्ञानेश्वर सामुदायिक वनको काभ्रेघाट बगरमा पोर्ट र क्रुज निर्माण भइरहेको छ । ज्ञानेश्वर सामुदायिक वनसँग २० वर्षको सम्झौता गरी क्रुज निर्माण गरिएको हो । क्रुज सञ्चालन गर्न करिब रु. १५ करोड लागत लाग्ने अनुमान गरिएको कँडेलले बताउनुभयो । क्रुज हालका लागि पर्यटकीय प्रयोजनका लागि मात्र हुने छ ।
क्रुजमा बिहानको खाजा खाँदै नदीमा सयर गर्न चाहनेहरुले ब्रेकफाष्ट क्रुजको मज्जा लिनेछन् । अपरान्ह खाना नै क्रुजमा खाँदै रमाउन चाहनेका लागि लञ्च नै क्रुजमा हुनेछ र साँझमा डिनर क्रुज हुने कँडेलले बताउनु भयो ।
प्रत्येक क्रुजिङ्ग करिब ३ घण्टाको हुनेछ । काभ्रेघाटदेखि सुरु यात्रा देवघाट पुगेर गोलाघाटसम्म २५ किलो मिटरको दुरी रहेको यो जलयात्राका लागि बाटोको समेत अध्ययन भईसकेको छ । क्रुज २ तल्ला, १ सय फिट लम्बाइ र २५ फिट चौडाइको हुनेछ ।
क्रुजको सुरक्षा, सेवाग्राहीको सुरक्षा, वातावरणीय संरक्षणमा ध्यान दिँदै विशेष सावधानीका साथ क्रुज निर्माण र पूर्व तयारी गरिरहेको कँडेलले बताउनुभयो । क्रुजसिपको सञ्चालनका लागि आवश्यक क्रिउ मेम्बर र प्राविधिक हाललाई बिदेशी हुनेछन् । दिर्घकालिन रुपमा नेपाली जनशक्ति नै उत्पादन गर्नको लागि आवश्यक तालिम केन्द्र सञ्चालन गर्ने कँडेलले बताउनु भयो ।
क्रुज जल प्रवाहको मापन, प्रकोपका चुनौतीहरुको अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कन पश्चात नर्वेजियन प्रबिधिको प्रयोगबाट भारतीय प्राबिधिकहरुको सहयोगमा नारायणी नदी किनारमै निर्माण गरिएको छ । क्रुजको निर्माण भारतीय कम्पनी ग्रान्डडुर मारिन इन्टरनेशनलले गरिरहेको छ । क्रुजमा दुई वटा इञ्जिन रहने छन् । क्रुजको गति प्रति घण्टा ३५ किलो मिटर हुने छ ।
क्रुज निर्माण गतवर्षको चैतबाट थालिएको हो । यो निर्माणका लागि १५ फिट गहिरो पोखरी निर्माण गरिएको छ । क्रुजको अघिल्लो भागमा एक सिंगे गैंडाको टाउकोको आकृति हुनेछ ।
चितवनका चार सहित १० जना शेयर धनीको लगानीमा क्रुज निर्माण भईरहेको हो । सरकारको नेपालका नदीमा पानीजहाज सञ्चालन गर्ने लक्ष्यलाई सार्थक बनाउन क्रुज निर्माण गरिएको जनाईएको छ ।