चितवनः डेंगुले त्राही बनाएको चितवनमा डेंगु नियन्त्रणका लागि सर्वसाधारण जुर्मुराउन थालेकाछन् । जिल्लामा बुधबारसम्म ४ हजार ४ सय ४५ जनाको रगत परिक्षण गरिएको छ भने एक हजार ४ सय ६० जनामा डेंगुको संक्रमण भेटिएको छ । मुख्यगरी बजारक्षेत्रमा फैलिएको डेंगु नियन्त्रणका लागि बजार क्षेत्रकै स्थानिय सक्रिय हुन थालेकाछन् । बुधबार भरतपुर मेडिकल कलेज रोडको प्रगतिपथ टोलका स्थानियले आफ्नो क्षेत्रमा डेंगु गराउने लामखुट्टेको लार्भा खोजी खोजी नष्ट गरेकाछन् । डेंगु गराउने एडिस इजिप्टाई जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्न रुचाउ“छ । एडिस एजिप्टाई लामखट्टे कालो रंगको हुन्छ भने सेतो थोप्लो पनि देखिन्छ । लामखुट्टेले आफ्नो जीवनकालमा हजारौं फुल पार्न सक्छ । त्यसबाट लार्भा बन्छ । लार्भा विकसित भएर लामखुट्टे बन्छ । डेंगु नियन्त्रण गर्न डेंगु गराउने लामखुट्टे मार्नुको विकल्प छैन । यही मन्त्रलाई आत्मसाथ गर्दै प्रगतिपथ टोल विकास समितीले डेंगु सार्ने लामखुट्टेको लार्भा खोजी गरी नष्ट गरेको अध्यक्ष रमा लौडारीले बताइन् । वडा नम्बर १० का क्रियाशील महिला स्वास्थ्य स्वेयमसेविकाको संंलग्नतामा अभियान सञ्चालन गरीएको हो । १०५ घरधुरी रहेको सो टोलमा होटल तथा लजको संख्या बढी छ । सरसफाईमा संलग्न स्थानियलेले आफ्नो टोलमा पर्ने पुरानो मेडिकल कलेज परिसर पनि सरसफाई गरेकाछन् । उनीहरुले अस्पताल परिसर भित्र फोहोर फाल्ने क्षेत्र र ग्यारेज सरसफाई गरेका थिए । अस्पताल परिसर नै रोगकको घर बन्दै गएको अवस्थामा डेंगु नियन्त्रणका लागि सरसफाईलाई आफ्नो जिम्मेवारीका रुपमा बहन गरेको संस्थाकी उपाध्यक्ष मञ्जु अर्यालले बताइन् । भरतपुर महानगरको बजार क्षेत्रमा फैलिएको डेंगु नियन्त्रणका लागि आफ्नो टोल जस्तै अन्य टोलवासीले पनि स्वस्फूर्त सरसफाई अभियान सञ्चालन गरे डेंगु नियन्त्रण सम्भव रहेको उनको भनाई छ । भरतपुरको वडा नम्बर १० सहित २,३, ४, ८ ,९ ,११ र १२ डेंगुको उच्च संक्रमणको जोखिममा रहेका वडा हुन् ।

प्रतिक्रिया दिनुहोस !