चितवनः भ्रमण वर्ष २०२० मा पर्यटकको संख्या वढाउने र वसाई लम्व्याउने गरि गृहकार्य सुरु गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० जिल्ला स्तरीय सहजिकरण तथा आयोजक समितिले सरोकारवालाहरुको सहभागितामा विभिन्न कार्यक्रम सहित भ्रमण वर्षलाई प्रभावकारी वनाउन तयारी थालेको हो ।
समितिका संयोजक जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार सरोकारवालाहरुको सहभागितामा ७१ सदस्यिय समिति गठन गरिएको छ । सोहि समितिवाट तीन उपसमिति गठन गरिएको छ ।
चितवन उद्योग संघले नेतृत्व गर्ने गरि आर्थिक उपसमिति, उद्योग वाणिज्य संघ चितवनले नेतृत्व गर्ने गरि वुकलेट तथा भ्रमण वर्ष क्यालेन्डर प्रकाशन उपसमिति, जिल्ला पर्यटन विकास समितिले नेतृत्व गर्ने गरि प्रचार प्रसार उपसमिति गठन गरिएको डल्लाकोटीले जानकारी दिनु भयो । ती उपसमितिमा सरोकारवाला विभिन्न संस्थाका प्रतिनिधिहरु सहभागि रहेका छन् ।
जिल्लामा रहेका पुराना र नयाँ गन्तव्यहरु समावेश गरि वुक्लेट र क्यालेन्डर प्रकाशन गरिदैं छ । त्यही वुकलेटका आधारमा यहाँ आउने पर्यटक ती गन्तव्य सम्म पुग्न सक्ने गरि उच्च स्तरको वुकलेट निर्माण गर्ने तयारी गरिएको उहाँले जानकारी दिनु भयो । हवाई र स्थलमार्गवाट आउने पर्यटकलाई सहज वनाउन विमानस्थल र वसपार्कमा सहायता कक्ष सुरु गर्न लागिएको छ ।
राजधानीमा हुन लागेको गैरआवासिय नेपाली महासंघ (एनआरएन) को सम्मेलनमा यहाँका वुक्लेट, क्यालेन्डर जस्ता सामाग्रिहरु वितरण गरि सम्वन्धित देश सम्म पुर्याउने लक्ष्य राखिएको डल्लाकोटीको भनाई छ । जिल्लामा परिवार रहेका विदेशमा वस्नेहरुलाई समेत भ्रमण वर्षमा आँफु र आँफुले चिनेका त्यहाँका वासिन्दालाई भित्र्याउने गरि प्रचार प्रसार गर्न लागिएको छ ।
नेपालकै अन्य जिल्लाहरुमा पनि यहाँका पर्यटकीय गन्तव्यहरुका वारेमा प्रचार प्रसार गर्न लागिएको उहाँले वताउनु भयो । तेस्रो पर्यटकीय गन्तव्य चितवनमा आउने पर्यटकको संख्या कम रहेको भन्दै उहाँले संख्या वढाउन र वसाई लम्व्याउन भ्रमण वर्षका कार्यक्रम केन्द्रित हुने वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !