चितवनः अवको दशैंमा सधैका लागि कावुल छोड्ने भन्दै घरवाट विदाई भएका कृष्णवहादुर थापाको तालिवानी आतंककारीको विस्फोटमा परि निधन भए पछि उनको परिवार शोकमा डुवेको छ । भरतपुर महानगरपालिका वडा नम्वर २१ कालिका चोक घर भएका थापा भदौ १ गते झण्डै दश वर्षे कावुलको वसाई सधैका लागि छाडेर नेपाल फर्कनका लागि भनि त्यस तर्फ गएका थिए ।

गत सोमवार विस्फोटमा परि ५४ वर्षिय थापाको मृत्यु भएको हो । फर्किएर वन्दै गरेको नयाँ घरमा वस्ने उनको रहर सदाका लागि अपुरो भएको छ । घरमा रहनु भएका थापाका ७८ वर्षिय वुवा गुञ्जवहादुर थापाको आँखा घटना पछि ओभानो वन्न सकेको छैन । दुवै आँखा भरि आँसुले टलपल वनाउँदै छोरो आउने वाटो हेरेर उहाँको दैनिकी वितिरहेको छ । घरको पिडिमा आमा ७१ वर्षिया चित्रकुमारी थापाको अवस्था अझै दयनिय वनेको छ । छोराको वियोगमा वृद्धा आमा वोल्न सक्ने अवस्थामा हुनुहुन्न ।

श्रीमानको वियोगले विच्छिप्त लक्ष्मीदेवि अधिकारी थापा आँफुले नजानु भन्दा भन्दै गएको परिणाम आँफुले भोग्नु परेको भन्दै भक्कानिनु भयो । उहाँले भन्नुभयो “मैले नजानु भनेर पासपोट तान्दा पनि दशैमा आँउछु अनि जान्न भन्दै गएका थिए, अव कहिल्यै नआउने गरि गएका रहेछन् ।” उहाँले श्रीमानको अन्तिम भनाई सम्झनुभयो “म चाँडैं आउँछु विदेशमा केहि हिसाव मिलाउनु पर्ने छ त्यो मिलाएर आउँछु ।”

श्रीमती, दुई छोरा र वुवा आमा सहित रहेका थापा नेपाली सेनाको जमदार पदवाट अवकाश प्राप्त भएका थिए । थापा वि.सं.२०६६ साल देखि कावुल जाने र आउने गर्दै आएका थिए ।

सुरुदेखि नै ग्रिन भिलेज नामक कम्पनिमा सुरक्षा गाडमा काम गर्दै आएका थापा गत असार २४ गते नेपाल आएर भदौ १ गते पुनः त्यस तर्फ गएका थिए । थापाले विदेशमा रहँदा भएको कमाईवाट घर निर्माणको काम समेत सुरु गरेका थिए । घर निर्माणको काम पुरा गर्न नपाउँदै उनको आक्रमणमा परि निधन भयो । उनकी भाई वुहारी सुनिता थापाले भन्नुभयो “घर निर्माण सम्पन्न गरेर दाईको घरमा वस्ने धोको अपुरै रहयो ।” थापाका दुई छोराहरु कामको शिलशिलामा विदेश मै रहेका थिए । अहिले कान्छा छोरा घर फर्किएका छन् भने जेठा दुवईमा रहेका छन् । वावुको मृत्युको खवर पछि उनी पनि घर फर्कदै छन् ।

वुहारी सुनिताले भन्नुभयो “घटना भएको सुनेका थियौ, त्यस पछि उहाँ संगै काम गर्ने अर्को एक जनालाई सोधे पछि वुधवार विहान मात्रै जानकारी पाएका थियौ ।”पहिला आम्दानी राम्रै भएकाले घर वनाएको ऋण तिर्ने आशामा जाँदा यस्तो पिडा भोग्नु परेको उहाँले वताउनु भयो ।

अहिले घर परिवारले मृतक थापाको शव ल्याउनका लागि कानुनी प्रकृया सुरु गरेका छन् । काठमााडौंमा रहेका आफन्त र घरका जान्ने वुझ्ने मिलेर कानुनी प्रकृया पुरा गर्न लागेको थापाको परिवारले जनाएको छ । थापाको परिवारका सदस्यका अनुसार शव नेपालमा नै ल्याएर अन्तिम शंस्कार गर्ने योजनामा उनीहरु रहेका छन् । यसका लागि सरकारी निकायको सहयोगको पनि आशा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !