चितवनः गत दुई वर्ष अघि आएको वाढि र गैंडाको कालगतिका कारण मर्ने क्रम वढे संगै वास्तविकता थाहा पाउनका लागि गैंडा गणनाको तयारी सुरु गरिएको छ । गत आर्थिक वर्षमा दाताको भर पर्दा हुन नसकेको गैंडा गणना यस वर्ष चैतमा गरिने भएको छ । गैंडा गणनाका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले वजेट विनियोजन गरेको छ ।
नेपालका चितवन, पर्सा, वर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैंडा रहेका छन् । ती सवै निकुञ्जमा गैंडा गणना एकै साथ गरिने छ । विभागका उपमहानिर्देशक रामचन्द्र कंडेलका अनुसार चैत १ गते देखि गैंडा गणनाका लागि गृहकार्य सुरु भई सकेको छ । निकुञ्जहरुमा प्रमुख संरक्षण अधिकृतको संयोजकत्वमा कार्यदल गठन हुने क्रम सुरु भएको छ । विभागमा पनि छुट्टै समिति गठन हुने कंडेलले जानकारी दिनु भयो ।
गैंडा गणनाका लागि विभागले रु १ करोड १० लाख विनियोजन गरेको छ । अपुग केहि रकम मात्र दाताको भर पर्नु पर्ने विभागले जनाएको छ । सवै निकुञ्जमा गैंडा गणना गर्दा रु १ करोड ५० लाख हाराहारी खर्च हुने कंडेलले जानकारी दिनु भयो । गत वर्ष विभागले वजेट विनियोजन गरेको थिएन । सवै रकम दाताको भर पर्दा वजेटकै अभावमा गणना हुन सकेको थिएन ।
कंडेलका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा गणना गर्न करिव १ महिना लाग्ने छ भने अन्य निकुञ्जमा संख्या अनुसार हप्ता दश दिन लाग्ने अनुमान गरिएको छ । सवैभन्दा वढि गैंडा चितवन राष्ट्रिय निकुञ्जमा रहेको छ । सन २०१५को गणनामा देशभरमा ६ सय ४५ गैंडा रहेका थिए । जस मध्ये ६ सय ५ गैंडा चितवन राष्ट्रिय निकुञ्जमा थिए ।
दुई वर्ष अघि आएको वाढीका कारण चितवन राष्ट्रिय निकुञ्जमा धेरै गैंडा वगाएको र मृत्यु भएको भेटिए पछि वास्तविक अवस्था पत्ता लगाउन गत आर्थिक वर्षमा गणना गर्ने तयारी गरिएको थियो । धेरै गैंडा भएकाले गणनाको तयारी चितवनमा तिव्र गतिमा अघि वढाईएको छ । विभागिय टोलिको उपस्थितिमा पहिलो छलफल पछि प्रमुख संरक्षण अधिकृतको संयोजकत्वमा गठित कार्यदलको छलफल समेत सम्पन्न भएको छ ।
प्रमुख संरक्षण अधिकृत वेद कुमार ढकालका अनुसार कार्यदलको वैठकले सहायक संरक्षण अधिकृतको संयोजकत्वमा उप कार्यदल गठन गरि आवश्यक पर्ने सामाग्रि, वजेट लगाएतका विषयमा प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । यसैगरि हात्तिसारका शाखा अधिकृतको संयोजकत्वमा प्रयोग गर्न सकीने हात्तिका विषयमा अध्ययन गरि प्रतिवेदन दिन अर्को समिति गठन गरिएको ढकालले जानकारी दिनु भयो ।
कार्यदलमा साझेदार संस्थाहरु संगै सरोकारवाला निकायका प्रमुखहरु सदस्य रहेका छन् भने उप कार्यदलमा तिनका प्रतिनिधिहरु सदस्य रहेका छन् । गैंडा गणना हुने भए पछि निकुञ्जले गर्ने घाँसे मैदान व्यवस्थापनका कामहरु, फायर लाईन लगाएतका नियमीत कामहरुको कार्यतालिका समेत अहिले नै निर्माण गरि काम अघि वढाउने निकुञ्जका सुचना अधिकारी गोपाल घिमिरेले जानकारी दिनु भयो ।
गैडा गणनामा उच्च प्रविधिको पयोग गरिने छ ।

प्रतिक्रिया दिनुहोस !