
चितवनः साउन महिनामा जिल्लामा एक सय छ जनामा डेंगुको संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार ४ सय ५३ जनामा गरिएको परिक्षणका क्रममा सो संख्यामा संक्रमित भेटिएको हो ।
कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार भेटिएका डेंगुका संक्रमितहरु मध्ये ७८ जना चितवनका रहेका छन् । ती मध्ये ६९ जना भरतपुर महानगरपालिकाको रहेका छन् ।
भरतपुर महानगरपालिका वडा नम्वर १,२ र ३ मा वढि संख्यामा डेंगुको जोखिम देखिएको केसीले जानकारी दिनु भयो । महानगरको कमलनगर, पुलचोक क्षेत्र वढि प्रभावित रहेको उहाँले जानकारी दिनु भयो । संक्रमण वढे संगै डेंगुको प्रकोप फैलन सक्ने देखिए पछि कार्यालयले सवैलाई सतर्क रहन समेत आग्रह गरेको छ ।
महानगरका १,२,३,४,१० नम्बर वडा डेंगुको उच्च जोखिममा रहेको उहाँले वताउनु भयो । यी वडाहरुमा कवाडी पसल, ग्यारेज तथा वर्कशप र होटलको संख्या धेरै छन् । ती स्थानमा वढि डेंगुको जोखिम देखिएको कार्यालयका प्रमुख दिपक तिवारीले जानकारी दिनु भयो ।
आर्थिक वर्ष २०७५÷७६ मा १ हजार ९ सय ५१ जनाको रक्त परिक्षण गरिएकोमा ३१ जनामा रोग देखिएको थियो । डेंगु रोग एडिस एजेप्टाई नामको पोथी लामखुट्टेको टोकाईबाट लाग्दछ । यो लामखुट्टेको टोकाईवाट वच्न सकेमा डेंगुको संक्रमणवाट वच्न सकीने हुँदा सतर्क रहन केसीले सुझाव दिनु भयो ।
भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीका अनुसारे डेंगुको संक्रमण देखिएका विरामीहरुमा टाउको दुख्ने, कम्मर दुख्ने, रक्तचाप परिवर्तन भईरहने, झाडा वान्ता हुने लगाएतका संकेत देखिएका छन् । अघिल्ला वर्षहरुमा तीन दिनमा मात्रै संक्रमण देखिने गरेको भए पनि अहिले सुरुकै दिनमा संक्रमण देखिने गरेको उहाँले वताउनु भयो ।
भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलका अनुसार अस्पतालमा उपचार गराउन आउने विरामीहरु मध्ये ५० प्रतिशत भाईरल ज्वरोका विरामीहरु हुने गरेका छन् । अस्पतालमा विरामीको चाप वढे संगै उच्च सतर्कता अपनाईएको उहाँले वताउनु भयो ।
साधारणतय भदौ देखि कार्तिक सम्म डेंगुको संक्रमण जोखिम उच्च रहन्छ । तर साउन महिनामा नै धेरै संख्यामा विरामी देखिएको हो । जिल्लामा सन् २०१०, २०१३ र २०१६ मा डेंगु महामारीकै रुपमा फैलिएको थियो ।