चितवनः जिल्लामा गत आर्थिक वर्षमा उद्योग स्थापनाका लागि ३ अर्व ९९ करोड ७४ लाख ६ हजार लगानी भएको छ । जसमा स्थिर पूँजी तर्फ रु २ अर्व ४० करोड ६० लाख २८ हजार र चालु पूँजी तर्फ रु १ अर्व ५९ करोड १३ लाख ७८ हजार रहेको छ ।
घरेलु तथा साना उद्योग कार्यालय भरतपुरका अनुसार सो रकमवाट १ हजार ६ सय ८८ वटा नयाँ उद्योग थपिएका छन् । कार्यालयले दिएको जानकारी अनुसार लघु, घरेलु र साना उद्योगमा गरि सो संख्यामा नयाँ उद्योग थपिएका हुन ।
कार्यालयका प्रमुख रमेश कुमार कर्मचायका अनुसार राजनैतिक स्थिरता संगै जिल्लामा उद्योगहरु खुल्ने क्रम वढेका हुन । उहाँका अनुसार थपिएका उद्योगहरुमा लघु उद्यम वढि रहेका छन् । लघु उद्यममा निजि १ हजार ७१ र साझेदारी ४० गरि एक हजार एक सय एघार उद्योग दर्ता भएका हुन । यस्तै घरेलु उद्योगमा तीन वटा र साना उद्योगमा ५ सय ७४ नयाँ दर्ता भएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।
नयाँ खुलेका उद्योगले ६ हजार ३ सय ९४ जनालाई रोजगार दिएको कार्यालयको तथ्याङ्कले जनाएको छ । जिल्लामा स्थापीत भएका उद्योगहरुमा महिला उद्यमी ५ सय ११ जना रहेका छन् भने पुरुष १ हजार ७ सय ३० जना रहेका छन् । ती उद्योगहरुले वार्षिक रु ११ अर्व ७३ करोड ९६ लाख १९ हजार वरावरको सामान उत्पादन गर्ने कर्मचायले जानकारी दिनु भयो । प्रमुख कर्मचायका अनुसार जिल्लमा नविकरण भएका १ हजार ५ सय ५१ वटा उद्योग रहेका छन् । उनीहरुले आफ्नो पुँजीमा समेत वृद्धि गरेका छन् ।
हाल दर्ता भएका संगै अहिले जिल्लामा ११ हजार २ सय ८५ उद्योग पुगेका छन् । जस मध्ये लघु उद्यम तर्फ २ हजार ३ सय ४३ वटा रहेका छन् । यस्तै घरेलु उद्योगमा १ सय ७३ र साना उद्योगमा ८ हजार ७ सय ६९ उद्योग दर्ता भएर संञ्चालनमा आएको कार्यालयको तथ्याङ्कले देखाएको छ । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार जिल्लामा हाल सम्म उद्योगमा रु. १८ अर्व ६३ करोड, ८४ लाख ४४ हजार लगानी भई सकेको छ । जसमा ४९ हजार ४ सय ३३ जनाले प्रत्यक्ष रोजगारी पाएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !