चितवनः चितवनका विद्यालयहरुमा अहिले वर्षे विदा चलिरहेको छ । लामो विदामा बालबालिकाहरु मामाघर जान ,घुम्न , नयाँ ठाउँ जान रुचाउँछन् । कतै घुम्न जान नपाउँदा बालबालिकालाई दिक्क लाग्ने भएकाले अभिभावकले पनि यो बेला सकभर सृजनात्मक क्रियाकलापमा सहभागि गराइदिन्छन् । नारायणगढ नदी किनारकी सृजना सुनारलाई पनि यस पटकको वर्षे विदामा के गर्ने होला भन्ने लागिरहेको थियो । १० कक्षामा अध्ययन गर्ने विद्यार्थीका लागि विद्यालयमा अतिरिक्त कक्षा सञ्चालन भएकाले टाढा घुम्ने प्लान नबनाएकी उनलाई दिन कसरी बिताउने भन्ने पिरलो थियो ।
‘लामो विदामा घुम्न जान पाए पो रमाइलो,’ उनले भनिन् ,‘ विदामा पनि पढ्नु पर्ने अनि दिनभर घरमा विताउनुपर्ने भएसी गाहे हुन्छ नी ।’ सृजनाको मनकै कुरा बुझे झैं काइदाको अवसर दियो नारायणी कला मन्दिर नारायणगढले । विद्यार्थीहरुका लागि १५ दिने निशुल्क नृत्य प्रशिक्षण आयोजना गरेर कला मन्दिरले सृजना जस्तै थुप्रै विद्यार्थीको विदालाई रोचक बनाइदियो ।
सृजना सानै देखि नृत्यमा रुची राख्छिन् । टेलिभिजनको पर्दामा नायक नायिकाले नाचेको हेर्दै नृत्य सिक्ने उनलाई कला मन्दिरको यो अवसर निकै मन प¥यो । उनले १५ दिनसम्म नृत्य सिक्नको लागि आफ्नो नाम टिपाइन् । बिहान अतिरिक्त कक्षा, दिउँसो ३ घण्टा नृत्य प्रशिक्षण र साँझमा घरको काममा सघाउने दैनिकी । व्यस्ततामै दिन बित्ने भएपछि उनको मनको सबै पिरलो हटाइदियो ।
सृजना जस्तै आयूषा काफ्ले पनि नृत्य गर्न निकै रुचाउँछिन् । बालबालिकाको लागि आयोजना गरिने विभिन्न प्रतियोगितामा सहभागिता जनाएर उपाधी समेत जितेकी उनलाई नृत्यांगना हुने रहर छ । कलामन्दिरले आयोजना गरेको प्रतियोगितामा सहभागि हुन विद्यालयले नै पठाएको उनले बताइन् । स्थानिय र राष्ट्रिय नृत्य प्रतियोगिता मा सहभागि भई टाइटल जित्ने रहर बारे बताउदै उनले भनिन् ,‘ मलाई त पढ्न भन्दा पनि नाच्न मन लाग्छ, यसबाटै नाम राख्नेछु ।’
नारायणगढ बालकुमारी कन्या माविमा अध्ययन गर्ने सरुक परियार पनि १५ दिने नृत्य प्रशिक्षणमा सहभागि भएकाछन् । ६ कक्षामा अध्ययन गर्ने सरुक विद्यालयका सांस्कृतिक कार्यक्रममा नृत्य प्रस्तुत गर्छन् । राम्रो नाच्ने भएकाले गाउँटोलमा हुने देउसी भैलोमा ठूला दाजु दिदीले उनलाई सहभागि गराउँछन् । सरुकले नृत्य सिकेका छैनन् । आफ्नो प्रतिभा निर्खानका लागि कलामन्दिरको यो अवसर उनले छुटाउन चाहेनन् । ‘ डान्स सेन्टरमा गएर सिक्ने मन त छ नी ,’ सरुकले भने ,‘संधै सिक्नको लागि चाहिने पैसा नै हुँदैन ।’
नारायणी कला मन्दिरले वर्षे विदालाई ध्यानमा राख्दै आयोजना गरेको निशुल्क नृत्य प्रशिक्षणमा सामुदायिक विद्यालयका ५७ जना विद्यार्थीहरु सहभागि भएका थिए । निशुल्क प्रशिक्षण भएकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई प्राथमिकता दिइएको कलामन्दिरका कार्यवाहक अध्यक्ष उद्धव जोशीले बताउनु भयो । ‘छुट्टीको समय सबै बालबालिका रमाउन चाहन्छन् ,’ जोशीले भन्नुभयो,’ नृत्य प्रशिक्षण मनोरञ्जनात्मक र सीप सिकाई दुबैलाई उपयोगि हुन्छ । ’