चितनवः पूर्वी चितवनमा रहेको सरकारी बकुलहर रत्ननगर अस्पतालले आफ्नो सेवालाई विस्तार गर्दै लगेको छ । अस्पतालले यही भदौबाट बिरामीलाई भर्ना सुविधा दिनका लागि सेवा विस्तार गर्न लागिएको हो । १५ शैयाको सो अस्पतालमा हाल बहिरंग सेवा मात्रै सञ्चालन हुँदै आएको छ ।
वहिरंग सेवा मात्रै संञ्चालनमा आएको यस अस्पतालको क्षमता विकास गर्दै प्रदेश स्तरको अस्पताल वनाउने उदेश्यका साथ अस्पतालको सेवालाई वृद्धि गर्न लागिएको हो ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.विश्वबन्धु बगालेका अनुसार सो क्षेत्रका बिरामीलाई सुविधा दिलाउने उद्देश्यले सेवा विस्तार गर्न लागिएको हो । अस्पतालमा स्थानीयले धान्यान्चल महायज्ञ लगाएर निर्माण गरेको एउटा भवन रहेको छ । यसैगरी शान्ति मेड नामक गैरसरकारी संस्थाका डा. रुथले हालै रु. ६ करोड लगानी गरेर अर्काे भवन बनाईदिनु भएको छ ।

चर्मरोग विशेषज्ञ डा. रुथको नेतृत्वमा अन्य दुई चिकित्सकले अस्पतालमा छालाको बहिरंग सेवा सञ्चालन हुँदै आएको छ । दैनिक छालाका मात्रै एक सय बिरामी उपचारका लागि आउने गरेको डा. बगालेको भनाई छ । यसससँगै दाँत, प्रसुती, बालबालिकालगायतलाई लक्षित गरी बहिरंग सेवा सञ्चालन हुँदै आएको छ ।
अस्पतालले ४५ जनाको मृगौलाको डाईलासिस समेत गर्दै आएको छ । अस्पतालमा प्रसुती सेवा समेत सञ्चालन हुँदै आएको छ । मासिक ३० भन्दा बढी महिलाले प्रसुती सेवा लिने गरेको उहाँले जानकारी दिनुभयो ।
नवजात शिशु उपचार केन्द्र समेत सञ्चालनमा ल्याउने तयारी गरिएको डा. बगालेले बताउनुभयो ।
रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले अस्पताललाई प्रदेशस्तरीय अस्पताल बनाउन पहल गरिएको बताउनुभयो । नगर कार्यपालिका बैठकले निर्णय गरी प्रदेशमा पेश भएको र विभागीय मन्त्रीले निरीक्षण समेत गरिसक्नु भएको उहाँले जानकारी दिनुभयो ।
कम्तीमा ५० शैयाको अस्पतालको रुपमा स्तरउन्नती गरी पूर्वी चितवनका जनतालाई सेवा दिलाउन नगरपालिका लागिपरेको उहाँको भनाई छ ।
सो क्षेत्रमा रत्ननगरसँगै खैरहनी, राप्ती र कालिका नगरपालिका रहेका छन् । सो अस्पताललाई विस्तार गर्न सकेमा पूर्वी चितवनका चार नगरपालिकावासीलाई सेवा पुग्ने र भरतपुरमा रहेको सरकारी अस्पतालका चाप घट्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !