चितवनः भ्रमण वर्ष सुरु हुने मिति नजिकीदै जाँदा जिल्लाका पर्यटन व्यवसायहीहरु यसलाई सफल वनाउनका लागि तल्लिन रहेका छन् । उनीहरुले चितवनमा भ्रमण गर्न आउने पर्यटकहरुलाई आकर्षित वनाउनका लागि जिल्लामा विभिन्न कार्यहरु गर्ने तयारी गरिरहेका छन् ।
भ्रमण वर्षलाई सफल वनाउँदै चितवनका पर्यटकीय क्षेत्रको अवलोकन गराउनका लागि स्थानीय तहहरु सहित अहिले पर्यटन व्यवसायीहरु लागीरहेका छन् । तेस्रो पर्यटकीय गन्तव्य चितवनमा भ्रमण वर्ष २०२० को तयारी सुरु गरिएको हो । भ्रमण वर्ष सुरु हुन करिव ४ महिना वाँकी रहँदा सरकारी र निजी क्षेत्रले सहकार्य गरेर राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा यहाँको पर्यटकीय गन्तव्यको प्रचारका लागि गृहकार्य सुरु गरिएको छ ।
जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार जिल्ला स्थित सरोकारवालाहरुको सहभागितामा जिल्ला स्तरीय सहजीकरण तथा आयोजक समिति गठन गर्न लागिएको छ । यसैगरी जिल्लाका सात वटै पालिकामा प्रमुखको संयोजकत्वमा आयोजक समिति गठन गर्न आग्रह गरिएको जानकारी उहाँले दिनु भयो ।
ती समितिहरुमा सरोकारवाला सबै पर्ने छन् । समितिका सदस्यहरुबाट विभिन्न उपसमिति निर्माण गरी भ्रमण वर्ष सन् २०२० लाई प्रभावकारी बनाउने काम गरिने डल्लाकोटीले जानकारी दिनु भयो । उहाँले भन्नुभयो “चितवनका पर्यटकीय गन्तव्यहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चिनाउने गरी हामी काम गर्दैछौ ।”
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगर स्तरीय सहजिकरण तथा आयोजक समिति गठन गरी भ्रमण वर्षलाई प्रभावकारी बनाउन विभिन्न गतिविधिहरु अघि बढाउन लागिएको बताउनु भयो । भरतपुर महानगरपालिका राप्ती र नारायणी नदीको बीचमा रहेको छ । महानगरको अधिकांश भाग चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ । प्रमुख दाहालले भन्नुभयो “भ्रमण वर्षको प्रचारप्रसारमा कुनै कमी हुन दिने छैनौं ।”
पर्यटन विकास समिति चितवनका महासचिव विश्व सुवेदीले जनवरी १ तारिखमा स्मारक सहित भ्रमण वर्षका कार्यक्रम शुरु गरिने बताउनुभयो । निजी र सरकारी क्षेत्रको समन्वयमा कार्यक्रमहरु हुने उहाँले जानकारी दिनुभयो । नयाँ गन्तव्यहरुको समेत पहिचान गरी प्रचारप्रसार गरिने छ ।
क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले नियमित कार्यक्रमका अतिरिक्त अन्तर्राष्ट्रिय हात्ती पोलो, दसैं महोत्सव, नेपाली नयाँ वर्ष विशेष कार्यक्रम जस्ता पर्यटक प्रबद्र्धन गर्ने गतिविधि गर्ने तयारी गरिएको बताउनुभयो । हाल जिल्लामा दुई लाख हाराहारी पर्यटक आउने गरेकोमा यो संख्यालाई दोब्बर बनाउने गरी प्रचारप्रसारमा जुट्ने घिमिरेको भनाई छ ।
के कस्ता कार्यक्रम प्रभावकारी हुन्छन् भन्ने विषयमा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन सहितको विज्ञ समूहहरुसँग छलफल समेत भईरहेको उहाँले जानकारी दिनुभयो । भ्रमण वर्षमा चितवनमा के भयो भन्ने प्रश्नको जवाफ दिन सक्ने गरी कार्यक्रम गरिने घिमिरेको भनाई छ ।
सौराहाका होटलहरुले स्तरउन्नतीका लागि काम समेत गरिरहेका छन् । होटलमा रंगरोगन गर्ने, क्षमता विस्तार गर्ने, पौडी पोखरीहरु निर्माण गर्ने जस्ता काम भईरहेका छन् ।
चितवनमा मुख्य रुपमा राष्ट्रिय निकुञ्जभित्र रहेका दुर्लभ वन्यजन्तु बाघ, एक सिंगे गैंडा हेर्न धेरै पर्यटक आउने गर्दछन् । यसका अतिरिक्त पवित्र तीर्थस्थल देवघाटधाम, माडीको गोद्धक, सोमेश्वरगढी, पाँचपाण्डव, वाल्मीकि आश्रम, जिरौनाको धर्मधाम लगायतका स्थलहरुमा पर्यटक आउने गर्दछन् । चितवन उच्च पहाडी क्षेत्रदेखि समथर मैदानसम्म रहेकाले सिराईचुली, उपारदाङ्गढी लगायतका पहाडी क्षेत्रमा पनि पर्यटक पुग्ने गर्दछन् । यसै जिल्लाबाट केवलकार चढेर मनकामना जानेहरुको संख्या पनि ठूलो हुने गर्दछ ।