सनद अधिकारी/चितवनः आन्तरिक राजस्व कार्यालय भरतपुरले गोर्खा व्रुअरीलाई अन्तिम अन्तशुल्क निधारण गरेको छ । सर्वाेच्च अदालतको फैसलासँगै कार्यालयले व्रअरीलाई अन्तिम शुल्क निधारण गरेको हो । कार्यालयले दुई आर्थिक वर्षको तिर्न बाँकी रहेको रु.८७ करोड १४ लाख ९७ हजार ५७८ सात दिनभित्र दाखिला गर्न आदेश जारी गरेको हो ।
कार्यालयका प्रमुख शुवप्रसाद रिजालका अनुसार आर्थिक वर्ष २०७३÷७४ को रु.५३ करोड २१ लाख ५७ हजार ६१५ र आर्थिक वर्ष २०७४÷०७५ को रु. ३३ करोड ९३ लाख ३९ हजार ९६३ अन्तशुल्क, जरिवाना र विलम्ब शुल्क दाखिला गर्न पत्राचार गरेको हो । कार्यालयले साउन १२ गते नै पत्र बुझाईसकेको जनाएको छ ।
अन्तशुल्क ऐन २०५८ को दफा १० (घ) तथा नियमावली २०५९ को नियम ६ (क) बमोजिमको अन्तिम अन्तशुल्क आदेश जारी गरिएको र सो पत्र करदाता प्रतिनिधिले बुझिसकेको रिजालले जानकारी दिनुभयो ।
सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शमशेर जवराको एकल ईजलाशले साउन ८ गते यस अघि उच्च अदालत पोखराले गरेको आदेशलाई उल्टाए पछि कर संकलन गर्ने बाटो खुलेको हो । दुई प्रतिशत मात्र जर्ती पाउने भए पनि फ्लो मिटर बिग्रिएको भन्दै ब्रुअरीले ३.५ प्रतिशत जर्ती कटाए पछि राजस्व कार्यालयले सोको कर निर्धारण गरेको थियो । निर्धारण गरेको करमा असहमती जनाउँदै ब्रुअरीले जेठ १९ गते उच्च अदालत पोखरामा रिट दायर गरेको थियो । अदालतले असार ११ गते कार्यालयका नाममा प्रारम्भिक कर निर्धारण कार्यान्वयन नगर्न र यथास्थितीमा राख्नु भनि अन्तरिम आदेश जारी गरेको थियो ।
सो पश्चात ब्रुअरी विरुद्ध आन्तरिक राजस्व कार्यालय भरतपुरले यहि साउन ७ गते सर्वोच्च अदातलमा रिट दायर गरेको थियो । सोहि रिटको सुनुवाई गर्दै प्रधानन्यायधीश जवराले उच्च अदालत पोखराले गोर्खा ब्रुअरीको पक्षमा जारी गरेको अन्तरिम आदेश कार्यान्वयन नगर्न ÷नगराउनु भनि आदेश जारी गर्नु भएको थियो । यससँगै आन्तरिक राजस्व कार्यालयले ब्रुअरीको अन्तिम कर निर्धारण गर्न बाटो खुल्ला भएको हो ।
रिजालका अनुसार चित्त नबुझेमा ब्रुअरीसँग प्रशासकीय पुनरावेदन गर्न पाउने अधिकार सुनिश्चित छ । यसमा ब्रुअरीले आन्तरिक राजस्व विभागका महानिर्देशक समक्ष प्रशासकीय पुनरावेदन निवेदन दिन सक्ने छ । यद्यपी सर्वोच्चले फैसला गरिसकेकाले पुनरावेदन हुने सम्भावना न्यून रहेको जनाईएको छ ।ब्रुअरीका कानुन व्यवसायी संकल्प क्षेत्रीले पत्र बुझेको र कुन बाटो अवलम्बन गर्ने भन्ने विषयमा छलफल भईरहेको जानकारी दिनुभयो । कर तिर्ने वा प्रशासकीय पुनरावेदन गर्ने भन्ने विषयमा टुंगो लागिनसकेको उहाँको भनाई छ ।
ब्रुअरीले यस अघिका तीन वर्षमा पनि सोही शीर्षकमा कर तिर्न बाँकी रहेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७०÷०७१ को रु. ७ करोड, ०७१÷०७२ को रु. १५ करोड र ०७२÷०७३ को रु.२९ करोड अन्तशुल्क बुझाउन बाँकी रहेको छ । अघिल्ला दुई वर्षको राजश्व न्यायाधिकरण र पछिल्लो एक वर्षको सर्वाेच्च अदालतमा विचाराधिन अवस्थामा रहेकाले टुंगो लाग्न नसकेको रिजालले जानकारी दिनुभयो ।
उद्योगको फ्लोमिटर राखेर चलेको अवस्थामा ३.५ प्रतिशतसम्म जर्ती कटाउन सक्ने प्रावधान रहेको छ । फ्लोमिटर नरहेको र बिग्रिएको अवस्थामा २ प्रतिशत मात्रै जर्ती काट्न सक्ने छ । तर ब्रुअरीले फ्लोमिटर राखेर पनि चलाएको छैन । तर ३.५ प्रतिशत जर्ती दावी गर्दै आएपछि हरेक आर्थिक वर्षमा कर निर्धारणको विषयमा विवाद हुँदै आएको हो ।
बि.सं. २०४५ सालदेखि नवलपरासीको मुकुन्दपुरमा सञ्चालन हुँदै आएको ब्रुअरीले गत आर्थिक वर्षमा रु.११ अर्ब अन्तशुल्क तिरेको छ । त्यस अघिका दुई वर्षमा रु. ८ अर्ब र रु.५ अर्ब अन्तशुल्क तिरेको थियो । यस कार्यालयमा संकलन हुने अन्तशुल्कको ४० प्रतिशत गोर्खा ब्रुअरीले तिर्ने गर्दछ । सो उद्योगले गोर्खा, काल्सबर्ग र टुबर्ग बियरसँगै एप्पल साईडर उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस !