चितवनःपैदल हिड्ने यात्रुहरुको चापलाई मध्यनजर गर्दै पूर्वि चितवनको रत्ननगर नगरपालिकाले पूर्व–पश्चिम राजमार्गका दुई ठाउँमा आकाशे पुल निर्माण गर्ने भएको छ । नगरपालिकाको मुख्य बजार क्षेत्र पर्ने सौराहा चोक र टाँडी चोकमा आकाशे पुल निर्माण गर्न लागिएको हो ।
नगरपालिकाका प्रमुख नारायण वनका अनुसार यसै आर्थिक वर्षबाट काम शुरु गर्न नगरपालिकाले रु. १ करोड ४० लाख बजेट विनियोजन गरेको छ । थप बजेटका लागि प्रदेश सरकार र संघीय सरकारसँग सांसदहरुसँग अनुरोध गरिएको उहाँले बताउनुभयो ।
आकाशे पुल निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार भईसकेको छ । नगरपालिकाका योजना शाखा प्रमुख ई.प्रकाश ढुंगानाका अनुसार दुई वटा पुल सम्पन्न गर्न रु. नौ करोड ५० लाख लाग्नेछ । सडक चौडा भएमा सार्न मिल्ने गरी फलामको पुल निर्माण गर्न लागिएको हो । ढुंगानाले राजमार्ग फराकिलो हुने सम्भावना भएकाले बढाउन मिल्ने गरी नक्सांकन गरिएको बताउनुभयो ।
पुल निर्माण गर्दा फरक क्षमता भएका व्यक्तिहरुलाई समेत सहज हुने गरी निर्माण गरिने जनाईएको छ । सडकको दुवैतर्फ घना बस्ती भएकाले विद्यार्थी, बृद्धबृद्धा, फरक क्षमता भएका मानिसहरुसँगै सर्वसाधारणलाई राजमार्ग पार गर्न कठिन हुँदै आएको छ । यी पुल जिल्लाका पहिलो आकाशे पुल हुनेछन् । नगरपालिकाको सौन्दर्यतालाई समेत ध्यानमा राखेर आकर्षक पुल बनाईने प्रमुख वनले जानकारी दिनुभयो ।
रत्ननगर नगरपालिका पूर्वपश्चिम राजमार्गको दाया बाया फैलिएको छ । यसै नगरपालिकामा पर्यटकीय नगरी सौराहा पर्दछ । जहाँ राजमार्ग पार गरेर जानु पर्दछ ।