चितवनः रत्ननगर नगरपालिकाले छाडा चौपाया राख्नका लागि कान्जिहाउस निर्माण अन्तिम चरणमा पुर्याएको छ । रत्ननगर नगरपालिका वडा नम्वर १६ भूतिया खोलाको छेउमा कान्जिहाउस निर्माण गरिएको हो ।

नगरपालिकाका प्रमुख नारायण वनका अनुसार साउन मसान्त सम्ममा पहिलो चरणको काम सकेर छाडा चौपाया राख्न सुरु गरिने छ । झण्डै एक विगाहा जमिनलाई तारवार गरि त्यसभित्र टहरा, टौवा, पानीको व्यवस्था, हेरालु वस्ने ठाउँ निर्माण गरिदैं छ । मुख्य रुपमा दुध दिन छाडेका गाई, उन्नत जातको गाईको वाच्छा वजारमा छाडीदिदाँ स्थानीयले समस्या भोग्दै आएका छन् ।
वनका अनुसार त्यस्ता पशुलाई नगरपालिकालाई प्रतिपशु रु १ हजार तिरेर कान्जिहाउसमा छोड्न सकीने छ । कान्जिहाउसमा रहेका राम्रा पशुलाई खरिद गरेर पाल्ने व्यवस्था पनि मिलाईने छ । त्यहाँ रहेका पशुको दानापानी, रेखदेख संगै आवश्यक उपचार पनि गरिने वनले वताउनु भयो ।
नगरपालिका भित्र छाडा चौपायको समस्या वढेपछि पशु अधिकारकर्मी, राजनैतिक दल, विद्धान गुरुहरु लगाएत संगको छलफल पछि कान्जिहाउस निर्माण थालिएको वनको भनाई छ । रत्ननगर क्षेत्र दुग्ध उत्पादनका लागि उर्वर मानिन्छ । पछिल्लो समय उन्नत जातका गाई पाल्ने क्रम वढेको छ । ती गाईका दुध दिन छाडेपछिका माउ र वाच्छो प्रयोगमा आउँदैनन् । जसका कारण कृषकले त्यस्ता पशु छाडा छोड्दा समस्या हुँदै आएको छ । पशु थपिदैं गएपछि थप टहराहरु निर्माण गरिदै लगिने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !