
रत्ननगर : रत्ननगर नगरपालिकाले वडा नं १४ मा नगर स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको छ । वडा नं १४,१५ र १६ अन्तर्गत पर्ने पिठुवालाई लक्षित गरी सो वडा अन्तर्गत डुम्री चोकमा स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको हो । स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै प्रमुख नारायण वनले स्वास्थ्य सेवाको पहुँचलाई नगरवासीको घरघरमा पु¥याउन नगर स्वास्थ्य केन्द्र सञ्चालन गरिएको बताउनु भयो ।
स्वास्थ्य सेवा पाउने नागरिकको अधिकार रहेको भन्दै उनले यो अधिकारको भरपुर उपयोगको लागि स्वास्थ्य केन्द्र कोसेढुंगा सावित हुने बताउनुभयो । स्वास्थ्य सेवालाई सहज बनाउन नगरपालिकाले घरघरमै उपचार गर्ने कामको सुरुवात गरेको भन्दै उहाँले आगामी बर्षबाट यसलाई अझ प्रभावकारी बनाउने बताउनुभयो । वडाध्यक्ष हरिकुमार श्रेष्ठले वडाबासीको माग र चाहना बमोजिम नगर स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँले वडाबासीलाई केन्द्रविन्दु पर्ने गरी डुम्री चोकमा नगर स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको बताए । सो नगर स्वास्थ्य केन्द्रको नयाँ भवन डुम्मीचोकमा निर्माण भइरहेको छ ।
केही समयका लागि स्थानीय क्लवको भवनबाट केन्द्र सञ्चालनमा ल्याएको भएपछि छिट्टै आफनै भवनमा सेवा सुरु हुने वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । स्वास्थ्य केन्द्रबाट नेपाल सरकारले नागरिकलाई प्रदान गर्ने सम्पूर्ण स्वस्थ्य सेवा प्रदान गर्ने योजना रहेको उहाँले बताउनुभयो । केन्द्रमा अहेब, अनमी लगायतका स्वास्थ्यकर्मीबाट सेवा प्रदान गरिने छ । स्थानीय तहको निर्वाचन पछि गरपालिकाले पहिलो पटक स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।
निर्वाचन हुनु भन्दा पहिला देखि रत्ननगरमा ३ वटा नगर स्वास्थ्य केन्द्र सञ्चालनमा रहेका थिए । उद्घाटन कार्यक्रममा वडा नं १५ का वडाध्यक्ष हुमनाथ लामिछाने,नगर प्रबक्ता राजेन्द्र हमाल, स्वास्थ्य शाखा प्रमुख इन्द्रलाल न्यौपाने,जागृती युवा क्लवका अध्यक्ष नुमनाथ रेग्मी,पिठुवा रेडक्रस समन्वय समितिकी प्रतिनिधि गीता देवकोटा,नेकपाका बासु लामिछाने, नेपाली काँग्रेसका कमलनाथ अधिकारी, र्शिजनशिल महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष रिता अधिकारी लगायतले मन्तव्य राखेका थिए ।