चितवनः प्रदेश सरकारले जिल्लामा पठाएको वजेट ढिला गरि आई पुग्दा अपेक्षाकृत रुपमा खर्च हुन सकेको छैन । चालु आर्थिक वर्षका लागि विनियोजित वजेट जिल्लामा निकासा ढिला हुँदा र कार्यालय व्यवस्थापन नहुँदा अन्यौलका कारण न्यून मात्र खर्च भएको छ । चालु आर्थिक वर्षको ११ महिना पुरा हुँदा पूँजीगत खर्च २६ दशमलव ३७ प्रतिशत मात्र भएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालय भरतपुरले दिएको जानकारी अनुसार जिल्लामा पूँजीगत तर्फ रु १ अर्व ८८ करोड २४ लाख आएकोमा जेठ मसान्त सम्ममा रु ४९ करोड ६३ लाख ६८ हजार मात्र खर्च भएको हो । चालु तर्फ रु ४२ करोड २ लाख ५७ हजार आएकोमा २१ करोड ६४ लाख मात्र खर्च भएको छ ।
कार्यालयका सुचना अधिकारी कृष्ण अधिकारीका अनुसार पहिलो चौमासिकको उत्तरार्धमा वजेट आएको र संस्थागत संरचना एवं ठेक्का व्यवस्थापन ढिला भएकाले वजेट खर्च कम भएको हो । प्रदेश सभा सदस्य विजय सुवेदीले कार्यालयहरु मंसिरमा खुलेका, ताकेता पुर्याउन नसकीएको र स्थानीय सरकारको चासो कम पुगेकाले वजेट खर्च हुन नसकेको वताउनु भयो ।
अर्का प्रदेश सदस्य मिलनबाबु श्रेष्ठले प्रदेश सभा सदस्यलाई रु १ करोडका दरले पठाईएको विकास वजेट वाहेक अन्य खर्च निकै कम भएको जानकारी दिनु भयो । संघ, प्रदेश र स्थानीय सरकारका बिचको तालमेलको कमिले पनि वजेट खर्चमा कमि आएको श्रेष्ठको ठम्याई छ ।
प्रदेश तर्फ जेठ मसान्त सम्म रु ५० करोड ६ लाख ३७ हजार राजस्व संकलन भएको छ ।
यस्तै संघिय वजेटमा पनि अपेक्षाकृत खर्च हुन सकेको छैन । अधिकारीका अनुसार जिल्लामा जेठ मसान्त सम्मको कुल वजेट रु ८ अर्व ७९ करोड ८८ लाख ७५ हजार आएको थियो । जसमा पूँजीगत रु ४ अर्व ३८ करोड ४१ लाख ८९ हजार मध्ये रु २ अर्व २८ करोड ५६ लाख ८५ हजार मात्र खर्च भएको छ । यो पूँजीगत खर्चको ५२ दशमलव १३ प्रतिशत हो । त्यस्तै चालु तर्फ रु ७ अर्व ७७ करोड ७० लाख ६७ हजार मध्ये ८८ दशमलव ३९ प्रतिशत खर्च भएको छ ।
संघ तर्फ जेठ मसान्त सम्म रु २८ अर्व २३ करोड ५५ लाख १३ हजार राजस्व संकलन भएको अधिकारीले जानकारी दिनु भयो ।