चितवनः पश्चिम चितवनको रामपुरमा धुर्मुश सुन्तली फाउण्डेसनले अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्दै छ । फाउण्डेसनले ३ अर्वको लागतमा निर्माण गर्न लागेको सो रंगशाला निर्माणका लागि अहिले सम्म ६ करोड रकम वोलिएको भए पनि उठ्न सकेको छैन ।
रकम उठ्न नसक्नु रंगशाला निर्माणका लागि घातक वन्न सक्ने देखिए संगै संघ, प्रदेश र स्थानीय सरकारले फाउण्डेसनको नाममा रकम विनियोजन गर्न लागेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको क्षेत्रमा रंगशाला निर्माण हुँदै गर्दा स्थानीय तहमा हौसला थपिनु त जायज हो । चर निर्माणको जिम्मा लिएको फाउण्डेसनले विभिन्न वाहनामा निर्माणको काम रोकी राखेको समयमा प्रदेश र स्थानीय सरकारले वजेट छुट्याउने तयारी गरिरहेका छन् ।
राष्ट्रिय रुपमा चर्चा पाएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि प्रदेश नम्वर तीन सरकारले ५ करोड रुपैंया आगामी वर्षका लागि विनियोजन गरेको छ । भरतपुर महानगरपालिका र वडा कार्यालयहरुले पनि रकम विनियोजनको तयारी गरेका छन् ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रदेश सरकारले ५ करोड रुपैंया आफ्नो निती तथा कार्यक्रममा राखेको छ । निर्माणको काम अघि वढ्दै गर्दा थप रकम दिन प्रदेश सरकार सकारात्मक देखिएको दाहालले जानकारी दिनु भयो । भोलि हुने नगर परिषद ले रंगशाला निर्माणका लागि प्रदेश सरकारले छुट्याए अनुसारकै ५ करोड रुपैया विनियोजन गर्ने तयारीमा रहेको छ ।
महानगरभित्र रहेका सवै वडाहरुले ५ लाख रुपैंयाका दरले रकम विनियोजन गर्ने तयारी रहेका छन् रंगशाला निर्माणका लागि । वहुवर्षिय योजना भएकाले महानगरले सुरुवाती रकमका रुपमा यो वजेट विनियोजन गरेको भए पनि आउँदो वर्ष अरु थप रकम विनियोजन गर्ने देखिएको छ । महानगर प्रमुख दाहालले नीजि क्षेत्र संगै संघ, प्रदेश र स्थानीय तहले रंगशाला निर्माणका लागि रकम विनियोजन गर्ने क्रम सुरु भएको जानकारी दिनु भयो ।
जिल्ला समन्वय समिति चितवनका प्रमुख एवं रंगशाला निर्माण सहयोग समितिका संयोजक कृष्णकुमार डल्लाकोटीले रंगशाला निर्माणका लागि सहयोग जुटाउन सवै स्थानीय तह सकारात्मक देखिएको वताउनु भयो । कतिपयले वजेटमानै राखेर र कतिपयले विभिन्न जगेडा कोषको पूजीवाट सहयोग गर्ने उहाँले जानकारी दिनुभयो ।
गत जेठ १५ गते स्थानीयले वाटो विस्तारको माग गर्दै रंगशालाको टिनको वार भत्काए पछि काम रोकीएको छ । रंगशाला निर्माणमा जुटेको धुर्मुश सुन्तली फाउण्डेसनका पदाधिकारी काठमाडौं रहेका छन् । डल्लाकोटीका अनुसार एक दुई दिनमा उहाँहरुको उपस्थितिमा वैठक वसि काम अघि वढाईने छ ।
फाउण्डेशन र सरकारी निकायले के के गर्ने भन्ने टुङ्गो लगाएर कामलाई अघि वढाईने डल्लाकोटीको भनाई छ । जिल्लाका सवै राजनैतिक दल सहित जिल्ला वासि रंगशाला निर्माणका लागि सकारात्मक रुपमा अघि वढेका छन ।
रंगशालाको शिलन्यास भदौमा गर्ने तयारीका साथ कामलाई तिब्रता दिईएको थियो । भरतपुर महानगरपालिका वडा नम्बर १५ मा दुई वर्ष ६ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको रंगशाला निर्माण गर्न रु ३ अर्ब खर्च हुने अनुमान गरिएको छ ।
विचको केहि समय काम रोकीए पनि अव नयाँ उत्साहाका साथ निर्माणको काम अघि वढाउनु पर्ने स्थानीयको भनाई छ । अहिले रंगशाला निर्माणको काम ठप्प रहेको छ । आम नेपालीको गास काटेर वन्न लागेको रंगशाला निर्माणका लागि स्थानीय र प्रदेश सरकारले रकम विनियोजन गर्न लागे पछि आम नागरिकमा केहि उत्साहा थपिएको छ । नागरिकमा उत्साहा थपिए संगै छिटो भन्दा छिटो निर्माणको प्रकृया सुरु गर्नु पर्ने स्थानीयको माग रहेको छ ।