चितवनः भरतपुर महानगरपालिका वडा नम्वर १० चौविसकोठीमा केहि समय अघि चार झाँडीले घेरीएको थियो । जहाँ सर्वसाधारणले दिशा पिसाव गर्ने थलोको रुपमा बिकास हुँदै आएको थियो ।
अहिले सोहि स्थानमा भरतपुर नागरिक उड्यन कार्यालयको चौविसकोठी तर्फको झाडी फाँडेर व्यावसायीक प्रयोजनका लागि भवन वनाएको छ । कार्यालयको नाममा रहेको सो जग्गामा वनाएको दुई तले व्यवसायीक भवनको एक वर्षको भाडाले पुरै लागत उठ्ने गरि ठेक्का सदर भएको छ । प्रयोग विहिन भएको जमिनलाई व्यवस्थित गर्दै भवन निर्माण सम्पन्न गर्नका लागि कार्यालयले २ करोड रुपैंयाको लागतमा भवन निर्माण गरेको थियो । भवन निर्माणको काम सम्पन्न भई सके पछि अहिले वोलपत्र मार्फत एक वर्षको रु २ करोड आउने गरि भाडामा लागाईएको छ ।
कार्यालयका प्रमुख पवन कुमार गौतमका अनुसार तीन वर्षका लागि न्यूनतम रु ७८ लाख राखेर वोलपत्र आव्हान गरिएकोमा एउटा फमले तीन वर्षमा रु ६ करोड तिर्ने गरी वोलपत्र सकार गरेको हो । अपेक्षा भन्दा निकै वढि भाडा उठ्ने भएको गौतमले वताउनु भयो ।
दुई तले सो भवनको एक तलामा २२ वटा कोठा रहेका छन् । वोलपत्रका लागि ६० वटा फमले फारम लगेकोमा ३८ वटाले वोलपत्र पेश गरेका थिए । तीन वर्ष लगाएर वनाईएको सो भवन ९ सय ८० स्क्वायर मिटर फराकीलो छ । अधिकांशले ठूलो रकम राखेर प्रतिश्पर्धा गरेको गौतमले जानकारी दिनु भयो ।
पश्चिम चितवन र पूर्वी चितवन जाने मुख्य चोक भएकाले भाडा रकम धेरै उठ्ने भएको हो । विगतका वर्षहरुमा सरकारी जमिन मिलेमतोमा वोलपत्र मिलाएर कम रकममा भाडामा लगाईने गर्दथ्यो । पछिल्लो समय विद्युतिय पद्धतीवाट वोलपत्र आव्हान (ई विडिङ्ग) गर्न सुरु गरेपछि सरकारी जमिन र भवनको भाडा धेरै उठ्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस !