चितवनः भरतपुर अस्पतालमा विरामीका लागि टिकट काट्दा महिला र अशक्तले लामो समय कुर्नु पर्ने भए पछि उनीहरुका लागि छुट्टै काउण्टरको व्यवस्था गरिएको छ । गुनासो वढे पछि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अस्पतालका सुपरिटेण्डेन्ट डा. विश्ववन्धु वगालेलाई महिला र अशक्तका लागि छुट्टै टिकट काउण्टर व्यवस्था गर्न निर्देशन दिनु भएको थियो ।
उहाँको निर्देशन लगत्तै अस्पतालले काउण्टर वढाएको हो । दाहाल महानगर प्रमुख नियुक्त भए पछि उहाँको पहिलो निर्णय भरतपुर अस्पतालमा आउने महिला विरामीहरुका लागि वहिरंग सेवाको टिकट निशुल्क गर्नु भएको थियो ।
अस्पतालको सेवा प्रभावकारी बनाउन आइतबारदेखि छुट्टै टिकट काउण्टर सञ्चालनमा ल्याएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा बगालेले जानकारी दिनुभयो । हाल सञ्चालनमा रहेका टिकट काउण्टरलाई व्यवस्थित गर्दै महिला र ज्येष्ठ नागरिक तथा अशक्तलाई छुट्टै टिकट काउण्टरको व्यवस्था गरिएको उहाँले बताउनु भयो । भरतपुर अस्पतालले नियमित रुपमा पाँच वटा टिकट काउण्टर सञ्चालनमा ल्याइरहेको छ ।
काउण्टर व्यवस्थापनपश्चात् बिरामीले आधा घण्टाभन्दा बढी कुर्नु नपर्ने उहाँको भनाई छ । बगालेले वहिरंग सेवा पनि व्यवस्थित गर्ने योजनामा रहेको जानकारी दिनु भयो । उहाँले बीमाका बिरामीको उपचार र औषधि वितरणमा समेत सहजता प्रदान गरिरहेको बताउनुभयो । बीमाको औषधि वितरणमा पनि काउण्टर थप गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो ।
भरतपुर अस्पतालमा दैनिक ७०० भन्दा बढी बीमाका बिरामी उपचारका लागि आउने गरेका छन् । गर्मी समयमा बिरामीको चाप बढेपछि सीमित स्रोतसाधनलाई व्यवस्थापन समस्या परेको अस्पताल प्रशासनले जनाएको छ । भरतपुर अस्पताल केन्द्रीय अस्पतालमा स्तरोन्नति भए पनि दरबन्दी भने जिल्ला अस्पतालको छ । गर्मी समयमा दैनिक एक हजार ५०० बिरामी भरतपुर अस्पतालको ओपिडीमा उपचारका लागि आउने गरेका छन् ।
महानगर प्रमुख दाहाल र पूर्ब प्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा भरतपुर अस्पताल केन्द्रीय अस्पताल वनेको हो । महानगरमा रहेको केन्द्रीय अस्पताल भएकाले प्रमुख दाहालको ध्यान अस्पताल तर्फ वढि केन्द्रित हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस !