चितवनः वैशाख, जेठको चर्को घाम । दिउँसोको समय एक वृद्ध चिठ्ठि वोकेर कार्यालय धाउँदै हुनुहुन्थ्यो । उमेरले चार विस नाघिसक्नु भएको वुवा चिठ्ठी वोर चर्को घाममा कार्यालय कार्यालय धाउदै गर्दा पनि उहाँमा अझै उत्साहा र उमंग उत्तिकै थियो ।
छोरा छोरी र नाति नातिना संग रमाउने समयमा उहाँ अझै समाज परिवर्तनका लागि भन्दै गाउँ घर दौडेको देख्दा अच्चमा लाग्थ्यो । उहाँ लाई देख्दा तपाईलाई पनि अचम्म लाग्न सक्छ । जीवनको अधिकांश समय राजनीति र लाभको पदमा बिताउनु भएका ८१ वर्षिय भिमबहादुर श्रेष्ठ विगत एक दशक यता भ्रष्ट्रचार निवारण अभियानमा सक्रिय हुनुहुन्छ । युवा अवस्था देखिनै कम्युनिष्ट राजनीतिमा सक्रिय श्रेष्ठ जिल्ला पंञ्चायतको एक पटक उपसभापति, दुई पटक सभापति, चारपटक सांसद र एक पटक राष्ट्रिय सभा सदस्य भएर जनताको सेवा गरिसक्नु भएको छ ।
पछिल्लो समय वि. सं. २०६५ साल यता उहाँको ध्यान भ्रष्ट्रचार बिरुद्धको अभियानमा छ । ट्रान्सपरेन्सी ईन्टरनेशनलको सदस्य हुँदै वि. सं. २०६९ सालमा उहाँकै नेतृत्वमा भ्रष्ट्रचार बिरुद्धको अभियान नामक संस्था दर्ता भयो । त्यही संस्था मार्फत भ्रष्ट्रचार निवारणका लागि उहाँ अनवरत रुपमा लागि पर्नु भएको छ ।
हालै मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गठन गरेको भ्रष्ट्रचार बिरुद्ध निगरानी नागरिक संस्था (सिटिजन जुरी)को संयोजक पनि उहाँलाई वनाईएको छ । होचो कद र फुर्तिलो शरीर भएका श्रेष्ठ यीनै दुई संस्था मार्फत भ्रष्ट्रचार न्यूनिकरण गर्न सक्रिय हुनुहुन्छ ।
बिभिन्न कार्यालयमा चिठि वोकेर आँफै पुग्नुहुने श्रेष्ठको जीवनको एउटै लक्ष्य भ्रष्ट्रचार मुक्त समाज वनाउनु हो । भ्रष्ट्रचार रोक्न जनतामा चेतना आबश्यक पर्ने भन्दै उहाँले भन्नुभयो “पहिले राजनैतिक नेतृत्व नै सुधार गर्न जरुरी छ । ईमान्दार वन्नु पर्छ ।” जानी नजानी राजनीतिमा लागेको वताउँदै उहाँले राजनिति लाई देश वनाउने मुल कुराहो भन्ने ठानेको बताउनु भयो ।
राजनीति विना देश सुध्रदैन भन्ने ठानेर म कम्युनिष्टबाट काँग्रेस पनि भए श्रेष्ठले थप्नु भयो “काँग्रेसमा लाग्दा पनि मुलुकमा वेथिति देखियो, भ्रष्ट्रचारका जालाहरु देखियो । तत्कालनै त्यसको अन्त्य नगरिकन काम छैन ।” रातमा सपनामा पनि भ्रष्ट्रचार रोक्ने अभियानमा आँफु लागेको देख्ने गरेको भन्दै उहाँले जुन देशमा भ्रष्ट्रचार छैन त्यो देश वनेका छन् भन्नुभयो ।
साना तिना भ्रष्ट्रचार कर्मचारीबाट भए पनि नीतिगत भ्रष्ट्रचार नेतावाट हुने गरेको श्रेष्ठको ठम्याई छ । आँफै भ्रष्ट भएपछि उसको नैतिक वलनै नहुने श्रेष्ठको भनाई छ ।
वि. सं. १९९५ सालमा तनहुँको सामुभगवतिमा जन्मनु भएका श्रेष्ठ २१ वर्षको उमेर देखि चितवनको स्थायी वासिन्दा हुनुभयो । त्यस अघिनै वि. सं. २००९ सालमा वाल्यकाल देखिनै उहाँको संगत कम्युनिष्टहरु संग भयो । श्रेष्ठले भन्नुभयो “काठमाडौंमा म पढ्न वसेको घर पुष्पलालको कान्छा वाको रहेछ । त्यहिबाट मैले कम्युनिष्ट सिके ।”
वि. सं. २०१५ सालको निर्वाचनमा आँफुले कम्युनिष्ट पार्टीको उमेद्धवारलाई जिताउन निर्वाचनमा एजेन्ट वस्नु भएका श्रेष्ठको वाल्यकाल र युवा अवस्था लुकेरै भए पनि कम्युनिष्ट नेताहरु संगको संगतमा बित्यो । जुन घरमा उहाँ डेरामा वस्नुहुन्थ्यो त्यहि घरमा लुक्न आउनु भएका मनमोहन अधिकारी संगको सम्बन्ध निकट वन्यो ।
वि. सं. २०२२ सालमा नेपाल कम्युनिष्ट पार्टी पुष्पलाल समुह संग नजिक हुँदै राजनैतिक यात्रालाई अगाडी वढाउनु भएका श्रेष्ठ त्यस पछिको १० वर्ष सम्म जिल्ला पञ्चायत चितवनको उपसभापति र सभापति भएर काम गर्नु भयो । पञ्चायतको सभापति हुँदै गर्दा गोरर्खपुर पुगेर लुकिछिपि पुष्पलाल सहितका नेताहरुलाई भेट्ने गरेको उहाँले बताउनु भयो ।
कम्युनिष्ट पार्टीको सचिव हुँदै २०३५ साल देखि २०४८ साल सम्ममा चार पटक उहाँ सांसद वन्नुभयो । वि. सं. २०५२ सालमा नेपाली काँग्रेस प्रबेश गरेपछि एक पटक राष्ट्रिय सभा सदस्य हुनु भएका श्रेष्ठले अर्को पटक भने संविधान सभाको निर्वाचनमा पराजय भोग्नु पर्यो ।
पञ्चायतकालिन समयका एक हस्ति श्रेष्ठ अहिले वृद्ध उमेरमा भने भ्रष्ट्रचार रोक्न दिल ज्यान दिएर लागि पर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस !